आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामा र धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोप्य सूचनाका आधारमा मंगलबार गरिएको प्रहरी कारबाहीका क्रममा बागमती नगरपालिका–८ स्थित अरुण लामाको घरमा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा करिब १० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै भारतीय ९०० रुपैयाँ, नेपाली २३ हजार ७७० रुपैयाँ नगद तथा तीन थान मोबाइल फोन समेत फेला परेको थियो।
अस्थायी प्रहरी पोस्ट सोल्टी बजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। हाल उनीहरूमाथि इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।






