आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नागरिकको समस्या समाधान, अधिकार संरक्षण र सुरक्षित बासस्थान सुनिश्चित गर्न आफू सधैं नागरिककै पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलवार आज्ञा खबर डटकमसँगको संक्षिप्त कुराकानीमा नगर प्रमुख क्षेत्रीले नागरिकको गाँस, बास र कपास खोसिने खालका कुनै पनि गतिविधि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै आवश्यक परे पदको प्रवाह नगरी नागरिककै पक्षमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका हुन्।
बर्दिवास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयको गतिविधिप्रति स्थानीयवासीमा असन्तुष्टि बढिरहेका बेला नगर प्रमुख क्षेत्रीले नागरिकको पक्षमा ऐक्यबद्धता जनाउँदै आफूलाई बर्दिवासका करिब ७४ हजार नागरिकले उनीहरूको समस्या समाधान र अधिकारको रक्षा गर्न नगरप्रमुखको जिम्मेवारी दिएको बताएका छन्।
“म जनताको प्रतिनिधि हुँ, जनताले दिएको जिम्मेवारी जनताको हित, सुरक्षा र अधिकारका लागि प्रयोग हुनुपर्छ,” नगर प्रमुख क्षेत्रीले भने, “जनप्रतिनिधिको जिम्मेवारी भनेको नागरिकको दुःख–सुखमा साथ दिने हो, नागरिकमाथि अन्याय हुँदा मौन बस्ने होइन।”
उनले जुनसुकै शासन व्यवस्था भए पनि नागरिक नै सर्वशक्तिमान शक्ति भएको उल्लेख गर्दै राज्यका सबै संयन्त्रभन्दा नागरिक शक्ति बलियो हुने जिकिर गरे। पछिल्लो समय बर्दिवास क्षेत्रमा देखिएको असन्तुष्टि, त्रास र बासस्थानसम्बन्धी चिन्ताप्रति आफू गम्भीर रहेको उनको भनाइ थियो।
नगर प्रमुख क्षेत्रीले नागरिकलाई विस्थापित गर्ने, बास उठाउने वा अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास कसैले गरे आफू चुप लागेर नबस्ने चेतावनी दिए। “यदि नागरिकको गाँस, बास र कपास खोसिने अवस्था आयो भने म मेयर पदको कुनै मोह नराखी नागरिकसँगै सडकमा उत्रिन तयार छु,” उनले भने।
संवैधानिक व्यवस्थाअनुसार जनप्रतिनिधिको प्रमुख दायित्व नागरिकको अधिकार रक्षा र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै उनले नागरिकमाथि अन्याय हुने खालका गतिविधिविरुद्ध स्थानीय सरकार सधैं सतर्क र जिम्मेवार रहने बताए।
यसबीच बर्दिवास–३ को कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयको गतिविधिलाई लिएर स्थानीयवासीमा असन्तुष्टि बढिरहेका बेला नगर प्रमुख क्षेत्रीको पछिल्लो अभिव्यक्तिलाई नागरिक पक्षधर अडानका रूपमा हेरिएको छ।






