महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा प्रहरी र स्थानीयबीच भएको झडपपछि पक्राउ परेका तीन जना युवालाई राति रिहा गरिएको छ।
बर्दिवासका नगर प्रमुख प्रलाद कुमार क्षेत्री को पहलमा वडा नं. ३ का अध्यक्ष बिराट बिष्ट तथा स्थानीय समाजसेवी गोपि श्रेष्ठ को उपस्थितिमा पक्राउ परेका युवाहरूलाई सोमबार मध्य रातको करिब २:३० बजे प्रहरीको जिम्माबाट रिहा गरिएको हो। प्रहरी प्रशासनले उनीहरूलाई स्थानीय समाजसेवी गोपि श्रेष्ठको जिम्मा लगाएको जनाएको छ।
डिभिजन वन कार्यालय महोत्तरी ले एलानी तथा अव्यवस्थित बसोबास गर्दै आएका स्थानीय बासिन्दाको घर हटाउने सम्बन्धी सूचना दिन सोमबार मध्यरातमा कालापानी पुगेको थियो। उक्त सूचनापछि स्थानीयवासी आक्रोशित बनेका थिए।
स्थिति तनावग्रस्त बनेपछि स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो। घटनाको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन जना स्थानीय युवालाई नियन्त्रणमा लिएको थियो।
स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँमा एक्कासी घर भत्काउने सूचना दिइएको भन्दै विरोध जनाएका छन्। घटनापछि कालापानी क्षेत्र तनावग्रस्त बनेको छा घटनाका पीडितहरूले मङ्गलबार बिहान ६ बजेदेखि बर्दिबास काठमाडौँ सडक खण्ड बीपी राजमार्गमा चक्काजाम गर्ने भएका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।