आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बाल सहभागिता तथा बालबालिकामा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। बर्दिवास नगरपालिकाको आयोजना, Save the Children को आर्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको समन्वय एवं सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाको समग्र विकासका लागि गैरसरकारी विकास साझेदार संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन्। उनले नगरपालिकाको सीमित बजेटका कारण नागरिकको अपेक्षाअनुसार सबै क्षेत्रका आवश्यकता एकै आर्थिक वर्षको बजेटमा समेट्न कठिन भइरहेको बताए।
नगरप्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाभित्र नागरिकको अपेक्षाको तुलनामा बजेट अत्यन्त न्यून रहेको उल्लेख गर्दै लक्षित वर्गका सबै आवश्यकता तत्काल सम्बोधन गर्न चुनौती रहेको बताए। नगरपालिकाको आन्तरिक राजस्व संकलन पनि अपेक्षाअनुसार हुन नसक्दा विकासका सवालमा नागरिकका समस्या र आवश्यकताभित्र गहिरोसँग प्रवेश गर्न नसकिएको उनको भनाइ थियो।
उनले शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा विकास साझेदार संस्थाहरूले गर्न सक्ने लगानीका आधारमा नगरपालिका सहकार्यका लागि तयार रहेको बताए। “विकास साझेदार संस्थाहरूले कुन क्षेत्रमा कति लगानी गर्न सक्छन्, सोहीअनुसार नगरपालिकाले उनीहरूको योजनासँग सहकार्य गरेर अगाडि बढ्छ,” नगरप्रमुख क्षेत्रीले भने।
बाल सहभागिता तथा बालबालिकामा लगानीको विषयलाई नगरपालिकाले प्राथमिकतामा राख्दै बालमैत्री योजना निर्माण र कार्यान्वयनतर्फ आफूहरू प्रतिबद्ध रहेको उनले बताए। बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र सहभागिता सुनिश्चित हुने गरी योजना तथा बजेट निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।
यसैबीच, स्थानीय तहमा बालअधिकार सुदृढ गर्न बालमैत्री योजना तथा बजेटलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै ‘बालअधिकारका लागि स्थानीय तहको बालमैत्री योजना तथा बजेटसम्बन्धी पैरवी पत्र–२०८३’ सार्वजनिक गरिएको छ।
पैरवी पत्रमा बालबालिकाको वर्तमान पृष्ठभूमि तथा सन्दर्भ, स्थानीय तहका प्रमुख उपलब्धि, विद्यमान चुनौती, बजेट पैरवीका प्राथमिकता, कार्यान्वयन तथा सुशासनसम्बन्धी विषय, बाल परामर्शबाट प्राप्त निष्कर्ष तथा बालबालिकाका सिफारिसलगायत विषयमा विस्तृत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव ले जानकारी दिए।
कार्यक्रममा बालअधिकार प्रवर्द्धन, बालमैत्री स्थानीय शासन, बालबालिकाको सहभागिता वृद्धि तथा उनीहरूमा लगानी बढाउने विषयमा सरोकारवाला निकायबीच साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।






