बर्दिवास जनता बहुमुखी क्याम्पसमा घेराबेरा निर्माण सुरु, नगरप्रमुख क्षेत्रीद्वारा शिलान्यास

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्र रहेको एकमात्र सामुदायिक क्याम्पस, बर्दिवास जनता बहुमुखी क्याम्पस को स्वामित्वमा रहेको जग्गा संरक्षण तथा पूर्वाधार व्यवस्थापनलाई लक्षित गर्दै क्याम्पस परिसर वरिपरि घेराबेरा (पक्की पर्खाल) निर्माण कार्य सुरु भएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले पर्खाल निर्माण कार्यको शिलान्यास गरेसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

क्याम्पस परिसरको सुरक्षा, व्यवस्थापन तथा दीर्घकालीन भौतिक पूर्वाधार विकासलाई ध्यानमा राख्दै सुरु गरिएको उक्त पर्खाल निर्माण कार्य मधेश प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको हो। आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत विनियोजित २४ लाख रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको पर्खाल उपभोक्ता समिति मार्फत निर्माण गरिने जनाइएको छ।

निर्माण कार्यका लागि २०८३ साल जेठ १ गते सम्झौता सम्पन्न भइसकेको छ भने २०८३ साल असार १० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित उपभोक्ता समितिसँग सम्झौता गरिएको बताइएको छ।

क्याम्पस प्रमुख चेत बहादुर खड्का (सिताराम) का अनुसार क्याम्पसको स्वामित्वमा हाल ९ बिघा ३ कठ्ठा २ धुर जग्गा रहेको छ। सोही जग्गामध्ये पहिलो चरणमा मधेश प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको बजेटमार्फत १ सय ६५ मिटर पक्की पर्खाल निर्माण गरिनेछ।

क्याम्पस परिसरको संरक्षण, अतिक्रमण रोकथाम तथा शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको घेराबेरा निर्माणले आगामी दिनमा क्याम्पसको भौतिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...