आज्ञा खबर
बर्दिवास
विपन्न दलित तथा सीमान्तकृत नागरिकलाई कृषि, पशुपालन तथा आयआर्जनमूलक गतिविधिसँग जोडेर आर्थिक तथा सामाजिक अवस्था सुदृढ बनाउने उद्देश्यका साथ बर्दिवास नगरपालिकाले वडा नं। ४ र ५ का महिला कृषक समूहलाई राँगा वितरण गरेको छ।
शनिबार आयोजित कार्यक्रममा नगरपालिकाले समूहमार्फत ४३ जना महिलालाई ४३ वटा राँगा वितरण गरेको हो। यसअन्तर्गत पञ्चधुरा महिला कृषक समूहलाई २३ वटा तथा उन्नति महिला कृषक समूहलाई २० वटा राँगा प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
राँगा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रह्लाद कुमार क्षेत्री ले विपन्न समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले समूहगत पशुपालनमार्फत महिलाको आर्थिक अवस्था सुधार हुनुका साथै स्वरोजगार सिर्जना हुने विश्वास व्यक्त गरे।
यसैबीच, बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी ले वितरण गरिएका राँगाको एक वर्षसम्मको जीवन बीमा, आवश्यक खोप, जुका नियन्त्रणको औषधि तथा उपचारको सम्पूर्ण व्यवस्था नगरपालिकाले गर्ने जानकारी दिए। उनले पशुपालनलाई व्यवस्थित र दिगो बनाउन नगरपालिकाले आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउने बताए।
वडा नं। ५ का अध्यक्ष काहारमान स्याङ्गवा ले समूहगत राँगा पालन, व्यावसायिक तरकारी खेती तथा अन्य आयआर्जनका कार्यक्रमलाई वडा–वडाका टोलस्तरसम्म विस्तार गर्न आवश्यक रहेको बताए। उनका अनुसार विपन्न नागरिकलाई सामूहिक रूपमा उत्पादनमुखी गतिविधिमा संलग्न गराउँदा जीवनस्तर उकास्न प्रभावकारी योगदान पुग्न सक्छ।
पञ्चधुरा महिला कृषक समूहकी उपाध्यक्ष आशामाया स्याङ्गतान ले आर्थिक अवस्था कमजोर रहेका विपन्न नागरिकको जीवनस्तर उकास्न नगरपालिकाले गरेको प्रयास स्वागतयोग्य रहेको बताउँदै नगरपालिकासहित नगरप्रमुखप्रति धन्यवाद व्यक्त गरिन्।
नगरपालिकाका अनुसार करिब ७ लाख १३ हजार रुपैयाँको आर्थिक सहयोगमा वडा नं। ४ र ५ का महिला कृषक समूहलाई राँगा वितरण गरिएको हो। वितरण गरिएका राँगालाई व्यवस्थित तथा आधुनिक ढंगले पालन गर्न नगरपालिकाको पशु विकास शाखाले आवश्यक तालिमसमेत प्रदान गर्ने जनाएको छ।






