आज्ञा खबर
बर्दिवास
ग्रामीण महिलाहरूको जीविकोपार्जन सुधार र आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले बर्दिवास नगरपालिकाले दुर्गम क्षेत्रका महिला कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरेको छ। चालु आर्थिक वर्षअन्तर्गत सञ्चालन गरिएको “महिला सशक्तीकरण अभियान” कार्यक्रममार्फत वडा नं. ५ र १० का बरडाँडा कृषक महिला समूहलाई सोमबार बेमौसमी तरकारी खेतीका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।

नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा टनेल प्लास्टिक, चार्जेबल स्प्रेयर, विषादी, किरा नियन्त्रण पासो, टमाटरको बीउ, प्राङ्गारिक मल, डिजिटल तराजु तथा सिकेचर लगायतका सामग्री हस्तान्तरण गरिएको समूहकी अध्यक्ष भविता कुमारी तामाङले जानकारी दिइन्। उनका अनुसार नगरपालिकाले तालिममार्फत कृषक महिलालाई आधुनिक खेती प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य राखेकोले यस पहलका लागि नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री तथा नगरपालिकाप्रति आभार व्यक्त गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विगतका आफ्नो कार्यकालमा कृषि सडकलगायत पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको बताए। उनले अब उत्पादन वृद्धि र बजार पहुँच विस्तारमा केन्द्रित हुँदै कृषकलाई समूहमार्फत आत्मनिर्भर बनाउने योजना अघि बढाइएको स्पष्ट पारे।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले ग्रामीण महिलालाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “महिला दिदीबहिनीहरूले आफ्नै मेहनतबाट आम्दानी गर्न सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याइएका हुन्,” उनले भने, “यसले घरखर्च धान्नेदेखि बचत गर्नेसम्म सहयोग पुर्याउनेछ।”
नगरपालिकाले आगामी दिनमा पनि कृषकहरूको क्षमता अभिवृद्धि, उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग पुर्याउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





































