आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा बढ्दो लागुऔषध समस्यालाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रहरी प्रशासनले नयाँ रणनीतिक अभियान सुरु गरेको छ। प्रदेश प्रहरी कार्यालयले “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” नामक कार्यक्रम औपचारिक रूपमा कार्यान्वयनमा ल्याउँदै यसलाई व्यापक बनाउने संकेत दिएको हो।
शुक्रबार आयोजित विशेष ब्रिफिङमार्फत प्रदेशका आठवटै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका इकाइलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले अभियानको सुरुआत भएको जानकारी गराएका हुन्। उनले सीमावर्ती क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै निगरानी कडा पारिने बताए।
अभियानअन्तर्गत प्रमुख सीमा नाकाहरूमा लागुऔषध परीक्षण केन्द्र स्थापना गरिनेछ। ‘ड्रग टेस्ट किट’ प्रयोगमार्फत व्यक्तिहरूले लागुऔषध सेवन गरे–नगरेको पहिचान गरिनेछ भने सीमामा नियमित आवतजावत गर्ने युवाहरूको विवरण संकलन गरी निगरानी प्रणालीलाई व्यवस्थित बनाइने जनाइएको छ।
यसका साथै, लागुऔषध सेवनकर्तालाई सीमा क्षेत्रमै अल्पकालीन सचेतनामूलक प्रशिक्षण प्रदान गरिनेछ। एक घण्टासम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागीहरूको अभिलेख तयार पारेर उनीहरूलाई दीर्घकालीन रूपमा अनुगमन गरिने योजना रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अभियानलाई केवल नियन्त्रणमा सीमित नराखी सुधार र पुनर्स्थापनासँग जोड्ने रणनीति अपनाएको छ। यसका लागि प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै उपचार, सीपमूलक तालिम, खेलकुद तथा रोजगारीका कार्यक्रम सञ्चालन गरिनेछ।
उता, लागुऔषध ओसारपसार र अवैध कारोबारमा संलग्न समूह तथा औषधि पसलहरूलाई कडा निगरानीमा राखिने र दोषी भेटिए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रदेश प्रहरी कार्यालयले यो अभियानलाई समन्वयात्मक ढंगले अघि बढाउँदै सामाजिक स्तरमै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।





































