आज्ञा खबर
बर्दिवास
विद्यार्थीको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले महोत्तरीको बर्दिवासमा शुक्रबारदेखि निःशुल्क मन्टेश्वरी तालिम सञ्चालनमा ल्याइएको छ। बर्दिवास नगरपालिकाको आयोजना तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्र, भैँसेपाटी ललितपुरको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा नगरभित्रका ३५ जना महिला तथा युवती सहभागी रहेका छन्।
बर्दिवास नगरपालिकाका रोजगार संयोजक लबकुमार यादवका अनुसार ६५ दिन (३९० घण्टा) अवधि रहने तालिमले सहभागीहरूलाई बालमैत्री शिक्षण विधि तथा व्यावहारिक सीपमा दक्ष बनाउने लक्ष्य राखेको छ।
तालिमको उद्घाटन बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय सरकारको प्राथमिकतामा महिला तथा युवतीलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गरे। सोही योजनाअनुसार मन्टेश्वरी तालिम सञ्चालन गरिएको उनले बताए।

यसैक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले तालिमको उद्देश्यबारे प्रष्ट पार्दै बालबालिकामा आत्मविश्वास विकास, सकारात्मक सोच अभिवृद्धि तथा सामाजिक व्यवहारिक मूल्य–मान्यतामा आधारित ज्ञान प्रदान गर्नु मुख्य तालिमको लक्ष्य रहेको बताए। उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि मनोरञ्जनात्मक तथा क्रियाकलापमा आधारित शिक्षण विधि प्रभावकारी हुने उल्लेख गरे।
नगरपालिकाका अनुसार तालिममार्फत बालबालिकालाई प्रारम्भिक शिक्षाका लागि तयार पार्ने, समूहमा काम गर्ने बानी विकास गर्ने, पालो पर्खिने, आफ्ना कुरा स्पष्ट रूपमा अभिव्यक्त गर्न सक्ने लगायतका सीप विकासमा जोड दिइनेछ। साथै कक्षाकोठामा प्रयोग हुने विभिन्न प्रयोगात्मक सामग्री, बौद्धिक खेल, सिर्जनात्मक गतिविधि तथा आँखा–हात समन्वय गर्ने अभ्यासमार्फत सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाइने बताइएको छ।
यस तालिमले सहभागी महिला तथा युवतीलाई रोजगारी तथा आत्मनिर्भरता तर्फ उन्मुख गराउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।





































