आज्ञा खबर
बर्दिवास,
मधेशको उदयमान सहर बर्दिवास बिहीबार एक महत्वपूर्ण अन्तर्राष्ट्रिय भेटघाटको साक्षी बन्यो। बर्दिवास नगरपालिकाको कार्यालय परिसरमा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री र नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अन्स्र्टबीच भएको शिष्टाचार भेटले स्थानीय विकासका मुद्दालाई वैश्विक सरोकारसँग जोड्ने प्रयासको संकेत दिएको छ।

भेट केवल औपचारिकता मात्रै थिएन; यसले बर्दिवासका ज्वलन्त समस्याहरूलाई अन्तर्राष्ट्रिय चासोको घेरामा ल्याउने अवसर पनि बन्यो। छलफलका क्रममा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका असर, चुरे क्षेत्रको दोहन, नदी नियन्त्रण तथा स्थानीय बासिन्दाको जीविकोपार्जन जस्ता विषयहरू गम्भीर रूपमा उठाइएका थिए।

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवासको भौगोलिक संवेदनशीलता र चुरे क्षेत्रसँग जोडिएका चुनौतीहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थासंगको सहकार्यको आवश्यकता औंल्याए। पछिल्ला वर्षहरूमा बाढी, भू–क्षय र अनियमित वर्षाले स्थानीय जनजीवनमा पारिरहेको प्रभावबारे पनि उनले ध्यानाकर्षण गराए।

सम्बादकै क्रममा राजदूत अन्स्र्टले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियाले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको संकेत दिए। उनले समुदायमा आधारित विकास मोडेललाई सुदृढ बनाउने पहलहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति पनि उल्लेखनीय थियो। ईसिमोडका जेनरल डाईरेक्टर डाक्टर पेमा ग्याम्सो, सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेब यादब लगायतलाई नगरप्रमुख क्षेत्रीले मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सहकार्यप्रति कृतज्ञता व्यक्त गरे।

त्यसैगरी, अष्ट्रेलियन राजदूत अन्स्र्टको तर्फबाट नगरप्रमुख क्षेत्री, उपप्रमुख तारादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी तथा भूमि शाखा संयोजक पवन कार्कीलाई समेत सम्मान गरिएको थियो। यो आदान–प्रदानले दुई पक्षबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

स्थानीय तहमा यस्ता कूटनीतिक भेटघाटहरू विरलै हुने गर्छन्। तर बर्दिवासमा भएको यो संवादले देखाएको छ—स्थानीय समस्या समाधानका लागि अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य बन्दै गएको छ।
अब प्रश्न उठ्छ, यो भेटले उठाएका विषयहरू कार्यान्वयनको चरणसम्म पुग्न कत्तिको सफल हुन्छन्? त्यसको उदाहरण आगामी दिनहरूले दिनेछन्।





































