बर्दिवासमा युवाहरूको भविष्य निर्माणतर्फ लक्षित एउटा महत्वपूर्ण पहल सुरु

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा युवाहरूको भविष्य निर्माणतर्फ लक्षित एउटा महत्वपूर्ण पहल सुरु भएको छ। शनिबारदेखि बर्दिवासमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसले सरकारी सेवामा प्रवेश गर्ने आकांक्षा बोकेका युवाहरूका लागि नयाँ आशा जगाएको छ।

बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा कर्मचारी मिलन केन्द्र बर्दिवास द्वारा आयोजित यो कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ। कार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाका नगर प्रकुख प्रह्लाद कुमार क्षेत्रीले एक विशेष समारोहबीच गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले यस्ता तयारी कक्षाहरूले स्थानीय युवाहरूलाई प्रतिस्पर्धी बनाउँदै सरकारी सेवामा प्रवेशको बाटो सहज बनाउने विश्वास व्यक्त गरे। “स्थानीय तहले युवाको क्षमता अभिवृद्धिमा लगानी गर्नु आवश्यक छ, यसले दीर्घकालीन रूपमा समग्र समाजलाई लाभ पु¥याउँछ,” उनले भने।
यस तयारी कक्षामा ४५ जना प्रशिक्षार्थी सहभागी रहेका छन्। कक्षामा लोकसेवा आयोग पास गरेर हाल सरकारी सेवामा कार्यरत दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने नगरपालिकाले जनाएको छ। यसले सहभागीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक अनुभवसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।

बर्दिवासका युवाहरूका लागि स्थानीय स्तरमै यस्ता तयारी कक्षाहरू सञ्चालन हुनु सकारात्मक सन्देशका रूपमा हेरिएको छ। महँगो शुल्क तिरेर शहर धाउनुपर्ने बाध्यतालाई कम गर्दै, आफ्नै ठाउँमा गुणस्तरीय तयारी गर्ने अवसर मिल्नुले अभिभावक र विद्यार्थी दुवै उत्साहित देखिएका छन्।

समग्रमा, यो पहलले बर्दिवासलाई शिक्षामैत्री शहरको रूपमा अघि बढाउने संकेत दिएको छ, जहाँ स्थानीय सरकार, संस्थाहरू र समुदाय मिलेर युवाहरूको उज्ज्वल भविष्य निर्माणमा सहकार्य गरिरहेका छन्।
उद्घाटन कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुनिल शर्मा पौडेल को अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारी, वडा नम्बर १४ का अध्यक्ष तथा नगर प्रवक्ता विजय कुमार महतो लगायत नगरपालिकाका कर्मचारी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...