बर्दिवास अस्पतालमै थाईराईड तथा भिटामिनको जाँच शुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्र रहेको एकमात्र सरकारी स्वास्थ्य संस्था बर्दिवास अस्पतालमा अब थाईराईड तथा भिटामिनको जाँच शुरुहुने भएको छ।
स्वास्थ्य सेवाको गुणस्तरलाई सरकारी स्तरबाटै अभिवृद्धिगर्ने उदेश्यले स्थानीय युवाको सक्रियताले अस्पतालमा नयाँ प्रविधि भित्रिएको छ, जसले अब यस क्षेत्रका बिरामीलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अस्पतालले हालसालै गरेको एक अध्ययनले बर्दिवास तथा आसपासका क्षेत्रमा थाइराइड तथा भिटामिनको मात्रा शरीरमा कम भएका बिरामी उल्लेनिय संख्यामा भेटिएकाले त्यसप्रकारका रोगको जाँच गर्ने आधुनिक उपकरणको बर्दिवास अस्पतालमा अभाव रहेकोे थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै बर्दिवास युथ क्लबले सि.एल.आई.ए. मेशिन अस्पताललाई हस्तान्तरण गरेको हो।
शनिवार आयोजित एक विशेष कार्यक्रममा क्लबका अध्यक्ष कृष्ण कार्कीले उक्त मेशिन नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री लाई हस्तान्तरण गरेका थिए। सि.एल.आई.ए मेशिन जडान भएसँगै अब बर्दिवासमै थाइराइड, भिटामिन लगायतका महत्वपूर्ण परीक्षणहरू अब सहज रूपमा गर्न सकिनेछ। यसअघि यस्ता परीक्षणका लागि बिरामीहरूलाई बर्दिवास अस्पताल बाहिर महँगा निजी प्रयोगशालामा जानुपर्ने बाध्यता थियो। नयाँ उपकरणले समय, खर्च र झन्झट दुबै घटाउने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै युवाहरूको यस्तो पहलले नगरपालिका र समुदायबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। उनले आगामी दिनमा अस्पतालको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उता, क्लबका अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए। “हामीले देख्यौं—यहाँका नागरिकलाई सामान्य परीक्षणका लागि पनि बाहिर जानुपर्छ। त्यसैले यो उपकरण हस्तान्तरण गरेर थोरै भए पनि सहजता ल्याउन खोजेका हौं,” उनले भने।

बर्दिवास युथ क्लब ले विगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। युवाहरूको यस्तो सक्रियताले बर्दिवासमा सकारात्मक परिवर्तनको संकेत देखिन थालेको छ।

स्थानीय नागरिकहरूका लागि यो पहल केवल उपकरण हस्तान्तरण मात्र नभई स्वास्थ्य सेवामा आत्मनिर्भर बन्ने यात्राको एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ। अब बर्दिवास अस्पतालमा उपलब्ध हुने नयाँ सेवाले गाउँ–सहरका सर्वसाधारणलाई समयमै रोग पहिचान र उपचारको अवसर प्रदान गर्नेछ, जसले समग्र स्वास्थ्य अवस्थालाई सुधारतर्फ डोर्याउने विश्वास गरिएको छ। कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारी अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष जयनारायण शर्मा,बर्दिवास अस्पतालका प्रशाशकिय प्रमुख दिपेश काफ्ले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...