आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले वर्तमान राजनीतिक चुनौतीका बीच पनि नेपाली कांग्रेस सुदृढ र एकताबद्ध रहेको बताएका छन्।
जनकपुरधामस्थित तिरुहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले कठिन परिस्थितिले पार्टीभित्रको ऐक्यबद्धता अझ मजबुत बनाएको उल्लेख गरे। उनका अनुसार राजनीतिक उतारचढावका बाबजुद कार्यकर्ताबीचको समन्वय र विश्वास कायम रहनु सकारात्मक संकेत हो।
मुख्यमन्त्री यादवले उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएपछि केही असन्तुष्ट भई अलगिएका नेता–कार्यकर्ता पुनः पार्टीमै फर्किएको जानकारी दिए। उनले अहिले सबै पक्ष एकजुट भई संगठनलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताए।
यादबले संगठन सुदृढीकरण, आन्तरिक सहकार्य र साझा लक्ष्यप्रति प्रतिबद्धतामार्फत आगामी दिनमा पार्टीलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने धारणा व्यक्त गरे। साथै, बदलिँदो राजनीतिक परिवेशमा धैर्यता, एकता र सक्रियता नै कांग्रेसको मुख्य शक्ति हुने उनको भनाइ थियो।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका यादवले पार्टीभित्रको एकताले भविष्यका राजनीतिक चुनौती सामना गर्न सहज हुने विश्वास समेत व्यक्त गरे।





































