निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा नयाँ बसपार्क निर्माण कार्य सुरु गरिएको छ। बर्दिवास नगरपालिका–१४ स्थित भब्सी खोलाको दक्षिणतर्फ रहेको करिब ७ बिघा नदी उकास जग्गामा मंगलबारदेखि निर्माण कार्य थालिएको हो।
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको पहलमा बसपार्क निर्माणको काम अघि बढाइएको नगर प्रवक्ता तथा वडा नम्बर १४ का अध्यक्ष विजय कुमार महतोले जानकारी दिए। उनका अनुसार बर्दिवासको तीव्र शहरीकरणसँगै मुख्य बजार क्षेत्रमा सवारीसाधनको चाप अत्यधिक बढ्दै गएको छ।
हाल बजार क्षेत्रमा जथाभावी पार्किङ, अलपत्र तथा बेवारिसे अवस्थामा राखिएका सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ। ती समस्यालाई समाधान गर्दै सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन बसपार्क आवश्यक रहेको भन्दै नगर प्रमुखको निर्देशनअनुसार निर्माण कार्य सुरु गरिएको प्रवक्ता महतोले बताए।
बसपार्क निर्माण सम्पन्न भएपछि मुख्य बजार क्षेत्रको ट्राफिक चाप घट्ने, यात्रु तथा सवारी चालकलाई सहजता हुने तथा सवारी व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। नगरपालिकाले निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।
