आज्ञा खबर
जनकपुरधाम
नेपाली कांग्रेसले मधेश केन्द्रित राजनीतिक गतिविधिलाई तीव्र बनाउँदै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गर्न लागेको बृहत् सभाको मिति परिवर्तन गरेको छ। यसअघि ७ फागुनमा गर्ने भनिएको सभा अब एक दिन अघि सार्दै ६ फागुनमा सम्पन्न गर्ने निर्णय गरिएको हो।
मधेश प्रदेश समितिको बैठकले जनकपुरधामस्थित तिरहुतिया गाछी क्षेत्रमा सभा आयोजना गर्ने टुंगो लगाएको छ। सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारी समेत तोकिएका छन्। सभाको प्रचार–प्रसारको समन्वय नितेश कुमार गुप्तालाई दिइएको छ भने मञ्च तथा कार्यक्रम व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई सुम्पिएको छ।
सभामा पार्टीका केन्द्रीय सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहित मधेश केन्द्रित प्रमुख नेताहरूको सहभागिता रहने बताइएको छ। बैठकमा सभाको समग्र तयारी, व्यवस्थापन, भीड व्यवस्थापन र संगठनात्मक परिचालनका विषयमा विस्तृत छलफल गरिएको थियो।
कांग्रेसले मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट नेता तथा कार्यकर्तालाई जनकपुर सभामा सहभागी गराउने रणनीति तय गरेको छ। पार्टीले यस सभालाई मधेशमा संगठन सुदृढीकरण र राजनीतिक सन्देश प्रवाहको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
