महोत्तरी–१ मा चुनावी सरगर्मी बढ्दै, मतदाताको प्राथमिकतामा अब ‘काम गर्ने नेता’

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर १ का गाउँ–सहरमा चुनावी चहलपहल विस्तारै बढ्न थालेको छ । दल र उम्मेदवारहरू एजेन्डा, प्रतिबद्धता र संकल्पपत्रसहित विभिन्न भेला, सम्मेलन तथा घरदैलो अभियानको तयारीमा जुटिरहेका छन् ।

तर यसअघिका निर्वाचनजस्तो सहज अवस्था भने यसपटक उम्मेदवार र दलहरूका लागि छैन । मतदातामा बढेको चेतना, सामाजिक सञ्जालको प्रभाव र विगतका अनुभवले दल तथा उम्मेदवारलाई थप जवाफदेही बनाएको छ । पटक–पटक आश्वासनमा मतदान गरेका मतदाता यसपटक व्यवहारिक योजना र त्यसलाई कार्यान्वयन गर्न सक्ने उम्मेदवारको खोजीमा देखिन्छन् ।

बर्दिवास–३, रजावासकी ७३ वर्षीया रत्नमाया सार्कीले जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्ने नेतालाई मात्रै जिताउनुपर्ने बताइन् । विगतका नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गर्दै उनले भनिन्,
“हामीले पटक–पटक जितायौँ, उनीहरूले पद पाए, आफ्नालाई जागिर खुवाए, तर हामीलाई निराशा बाहेक केही दिएनन् । यसपटक प्रतिबद्धता होइन, कामको स्पष्ट योजनासहित आउने उम्मेदवारलाई मात्रै भोट दिने सोच बनाएको छु ।”

उनले चुनावका बेला गरिएका बाचा चुनाव सकिएपछि बिर्सिने प्रवृत्तिले आम नागरिक आजित बनेको बताइन् ।
“आश्वासन त पहिल्यै पाइसकेका हौँ, अहिले पनि त्यहीँ हुने हो कि भन्ने डर छ,” उनले थपिन् ।

त्यस्तै बर्दिवास–५ का स्थानीय समन घिसिङले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताए । ग्रामीण सडक वर्षैभरि सञ्चालन नहुँदा किसानको उत्पादन नष्ट हुने गरेको उनको गुनासो छ ।
“चुनावका बेला नेताले धेरै सपना देखाउँछन्, तर व्यवहारमा केही पनि हुँदैन,” उनले भने, “कच्ची वा ढलान सडक खनेर मात्रै विकास हुँदैन, दुर्गम तथा पहाडी क्षेत्रमा बाढी र पहिरोले ज्यान लिने समस्याको दीर्घकालीन समाधान कसैले गरेन ।”

बहुदल आएयता पटक–पटक नेताहरूले भोट लिएर पछि नफर्किएको आरोप पनि उनले लगाए ।
“हामी यो क्षेत्रका जनता सधैँ भोट दिने बैंक मात्रै भयौँ,” उनले दुखेसो गरे ।

दुर्गम गाउँका बासिन्दाले अहिलेसम्म केन्द्रबाट विकास गर्ने नेता नपाएको गुनासो गर्दै चुनाव जितेपछि पनि आफ्ना समस्या बुझ्ने र समाधान गर्ने नेतृत्वको अभाव रहेको बताएका छन् । धेरैको ध्यान सहर–बजारमै सीमित हुँदा दुर्गम बस्तीहरू ओझेलमा परेको उनीहरूको भनाइ छ ।

एक स्थानीय मतदाताले भने,
“सहरमा विकास देखिन्छ, तर गाउँमा भौगोलिक विकटतासँगै विकासले ठगेको छ । नेता जिताएर पठाए पनि उनीहरूको नजर गाउँतिर कहिल्यै परेन ।”

यसपटकको निर्वाचनमा मतदातामा आक्रोश र आशा दुबै देखिन्छ । पुराना दल र नेताप्रति विगतका प्रतिबद्धता पूरा नहुनुका कारण आक्रोश बढ्दो छ भने नयाँ उम्मेदवार र दलप्रति केही आशा भए पनि विश्वासको ठोस आधार अझै निर्माण हुन सकेको छैन ।

२०६४ सालदेखि निरन्तर मतदान गर्दै आएकी एक महिला मतदाताले भनिन्,
“चुनाव आउँदै पिच्छे नयाँ लहर आउँछ, सबैले गर्छु भन्छन्, तर अन्त्यमा सबै उस्तै देखिन्छन् । अब जनता ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने अवस्थामा पुगेका छन् ।”

महोत्तरी क्षेत्र नम्बर १ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर मतदाताको मनोदशा परिवर्तन हुँदै गएको देखिन्छ । भावनात्मक नाराभन्दा अब व्यवहारिक योजना, कार्यान्वयन क्षमता र जनजीवन बदल्ने ठोस काम नै मतदाताको पहिलो प्राथमिकता बनेको छ । यसले आगामी निर्वाचनमा मतदाताले कडा प्रश्न गर्ने र मत परिणाममार्फत स्पष्ट सन्देश दिने संकेत गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...