आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ का उम्मेदवार डा.मुकेशराज काफ्लेले आफूले जनतासँग गरेका बाचा पूरा गर्न नसके माफी माग्दै राजनीतिबाट विदा लिने घोषणा गरेका छन्। महोत्तरी क्षेत्र नम्बर १ को चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन उनले मतदातासँगको भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार डा.काफ्लेले मरहा नदी र रातु नदीको कटानले स्थानीय जनताले लामो समयदेखि सास्ती भोग्दै आएको उल्लेख गरे। नदीका कारण वर्षायाममा हुने जोखिम, आवतजावतको समस्या र जनधनको क्षतिलाई ध्यानमा राख्दै तटबन्धनको काम अघि बढाइएको उनले जानकारी दिए।
उनले भने “जनताको पीडा देखेर चुप लागेर बस्न सकिन्न त्यसैले नदी नियन्त्रण र तटबन्धनको कामलाई प्राथमिकतामा राखेको छु,।
आफूले जलश्रोत तथा उर्जामा अध्ययन गरेको व्यक्ति भएको उल्लेख गर्दै काफ्लेले कहाँ, कहिले र कसरी काम गर्नुपर्छ भन्ने स्पष्ट ज्ञान र अनुभव आफूसँग रहेको दाबी गरे। “शिक्षा र अनुभवले विकासका सही प्राथमिकता निर्धारण गर्न मद्दत गर्छ,” उनले बताए।
उनले विकास, सुशासन र जनजीकासँग प्रत्यक्ष जोडिएका समस्यामा समाधानका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गरे। साथै उनले चुनाबी सभामा उपस्थित मतदाताहरूलाई अरूलाई पनि मतदान गर्न प्रेरित गर्न अनुरोध गरे।
सो कार्यक्रममा स्थानीय बासिन्दाहरूले नदी नियन्त्रण, पूर्वाधार विकास र जनप्रतिनिधिको जवाफदेहिताबारे आफ्ना गुनासो तथा सुझाव राखेका थिए। चुनाबी सभामा उल्लेखनीय संख्यामा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो
