आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित महेन्द्र राजमार्गको भब्सी पुल नजिकैबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार दिउँसो करिब ४ बजे उक्त युबकलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त अपरेसनमा ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक कुलराम चौधरी तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले पूर्वतर्फ पैदल आएका एक युवकलाई शंकास्पद ठानी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा युवकले बोकेको ‘न्यु लुक्स फेन्सी स्टोर’ लेखिएको कलेजी रंगको झोलामा कालो प्लास्टिकभित्र लुकाइछिपाई राखिएको ३०० पत्ता (३,००० पिस) लागु औषध ट्रामाडोल फेला परेपछि उनलाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीका अधिकारीहरूले बताएका छन्।
पक्राउ परेका युवक जिल्ला बारा, निजगढ नगरपालिका–७, योजना टोलका २७ वर्षीय मुकेश दर्लामी रहेको प्रहरीले जनाएको छ। उनी बर्दिबास–१ को भब्सी पुल क्षेत्र हुँदै अवैध लागूऔषध लिएर हिँडिरहेका अवस्थामा पक्राउ परेका हुन्।
उनलाई कानुनी कारबाहीका लागि तत्काल ईलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।





































