आज्ञा खबर
जनकपुरधाम
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा आइतवार अन्तरिम आदेशका लागि विशेष सुनुवाइ गर्ने भएको छ।
मधेश प्रदेशका ७४ जना सांसदको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको हो। अदालतले मुख्यमन्त्री नियुक्ति, मन्त्रिपरिषद् गठनलगायतका सम्पूर्ण निर्णयहरू सम्बन्धित कागजातसहित आइतवारको पेशीमा प्रस्तुत गर्न आदेश गरेको छ।
सुनुवाइपछि अदालतले यसअघि जारी गरेको अन्तरिम आदेशलाई पनि सन्दर्भ मानेर अबको सुनुवाइमा मुख्यमन्त्री यादवको नियुक्तिको वैधानिकता सम्बन्धी प्रारम्भिक दृष्टिकोण दिने तयारी गरेको छ। केही दिनअघि नै सर्वोच्च अदालतले अर्को रिटमा निर्णय सुनाउँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न चेतावनीसहित अन्तरिम आदेश जारी गरेको थियो।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ ९३० अनुसार नेकपा ९एमाले० का संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासस्थित एक होटलमा शपथ ग्रहण गराएर मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, सो नियुक्ति प्रक्रिया प्रारम्भिक रूपमा विवादास्पद बनेको छ।
यसैबीच, प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारले पदमुक्त गरिसकेको छ भने मुख्यमन्त्री यादवले जनकपुरधाम पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरिसकेका छन्। मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सात दलका सांसदहरूले बुधबार जनकपुरधामस्थित मधेश भवन अगाडि विरोध प्रदर्शनसमेत गरेका थिए।
आइतवारको सुनुवाइले अब मधेश प्रदेशको राजनीतिक द्विविधा—सरोज यादवको नियुक्ति वैध हो कि होइन—भन्ने सवालमा सर्वोच्चको प्रारम्भिक मत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
