आज्ञा खबर
जनकपुरधाम
विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशका आठ जिल्लाका उत्कृष्ट किसानलाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित शुक्रबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा खेतीपाती र उत्पादनमा उल्लेखनीय योगदान पु¥याएका किसानलाई सम्मान गरिएको हो।
मन्त्रालयका सचिव डा. उमेश दाहालले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीबाट चयन गरिएका आठ किसानलाई जनही २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरे। उनका अनुसार यी किसानहरूले आफ्नो क्षेत्रमा खेतीका विविध विधा र नवप्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धिमा उल्लेखनीय उदाहरण प्रस्तुत गरेका छन्।
सम्मानित किसानहरूमा धनुषाका मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महत्तो, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर, सर्लाही वागमती नगरपालिका–११ का मौरीपालक मणि प्रसाद पाण्डे, रौतहट कटहरिया–५ का धान किसान रामसिंह राय यादव, बाराको जितपुरसिमरा–१८ की मकै किसान विनिता गौतम, पर्साको विन्दवासिनी–४ का च्याउ उत्पादक सुजित कुमार चौरसिया, सिरहा नगरपालिका–२ का बीउ उत्पादक बलराम यादव, र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महाविर प्रसाद चौधरी रहेका छन्।
कार्यक्रममा बोल्दै सचिव दाहालले मधेश प्रदेशलाई केवल अन्नको भण्डार मात्र नभई खाद्य उत्पादनको अग्रणी केन्द्रका रूपमा विकास गर्न यी किसानहरूको भूमिका महत्वपूर्ण हुने बताए।
उनले भने, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेर मात्रै हामी देशभरका नागरिकका लागि पर्याप्त खाद्यान्न सुनिश्चित गर्न सक्छौं। समृद्ध र आत्मनिर्भर मधेश निर्माणमा किसान र सरकार दुवैको संयुक्त प्रयास अपरिहार्य छ।”
सो अवसरमा निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख डा. सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल, र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलला शर्मालगायतका वक्ताहरूले खाद्य सुरक्षा, पोषण सुधार र उत्पादन प्रवद्र्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमले मधेश प्रदेशमा कृषिप्रति समर्पित किसानको योगदानलाई औपचारिक रूपमा पहिचान गर्दै कृषिको व्यावसायिकता र आत्मनिर्भरता तर्फ अघि बढ्ने सन्देश दिएको छ।
विश्व खाद्य दिवसमा मधेश प्रदेशका आठ उत्कृष्ट किसानलाई सम्मान
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
