हरिपुर्वाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास, लालबन्दीमा तनाव

[sharethis-inline-buttons]

हरिपुर्वाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास, लालबन्दीमा तनाव
आज्ञा खबर
सर्लाही

सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेली र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजारमा रहेको अधिकृत साह बस्ने क्वार्टरमा पुगेका केही वडाध्यक्ष र स्थानीयबासीले तोडफोड गर्दै दुबै अधिकारीमाथि धावा बोल्ने प्रयास गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, आक्रोशित समूहले प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठाभित्र रहेका टेबल, कुर्सी र अन्य सामग्री नष्ट गरेका थिए। सो क्रममा भीड नियन्त्रणका क्रममा हरिपुर्वा–६ का वडाध्यक्ष सामसोगारथ राय यादव सामान्य घाइते भएका छन्।

घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको थियो। प्रहरीको हस्तक्षेपपछि नगरप्रमुख तेली र प्रमुख प्रशासकीय अधिकृत साह सुरक्षित रहेका छन्।

स्थानीय र केही वडाध्यक्षहरूले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीबाटै नगरपालिकाको कामकाज सञ्चालन गर्दै अनियमित गतिविधि गरेको, नागरिकका गुनासोप्रति बेवास्ता गरेको र पारदर्शिताको अभाव देखाएको आरोप लगाएका छन्।

हरिपुर्वा–८ का वडाध्यक्ष रामेश्वर रायका अनुसार प्रमुख प्रशासकीय अधिकृत साहले लालबन्दीमा बस्दै कार्यालयका कागजात र अन्य महत्वपूर्ण फाइलहरू झोलामा राखेर “गोप्य रूपमा” काम गर्दै आएका छन्।

उनले थपे, “कर्मचारी नियुक्ति, ठेक्का छनोटदेखि सबै काममा बाहिरी व्यक्तिलाई प्राथमिकता दिइएको छ, जसले स्थानीय प्रतिनिधिहरूमाझ असन्तुष्टि बढाएको छ।”

तर नगरप्रमुख विनोदकुमार साह तेलीले भने घटनालाई योजनाबद्ध ‘अराजक हुल’को आक्रमणको प्रयासका रूपमा व्याख्या गरेका छन्। उनले भने, “जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनीपछि सेवा सञ्चालन कसरी गर्ने भन्ने छलफल चलिरहेको थियो। त्यही बेला केही व्यक्तिहरू अराजक रूपमा आक्रमण गर्न आए।”

उनले आन्दोलनमा संलग्न रहेका केही समूह नै फेरि हिंसात्मक गतिविधिमा उत्रिएको आरोप समेत लगाए।

हरिपुर्वा नगरपालिका सर्लाही जिल्लाको दक्षिणपूर्वी क्षेत्रको सीमावर्ती नगरपालिका हो। पछिल्ला महिनाहरूमा नगरप्रमुख र वडाध्यक्षबीच प्रशासनिक र आर्थिक निर्णयमा असहमति बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र सुरक्षाको व्यवस्था कडा पारिएको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...