आज्ञा खबर
सिरहा
सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला छेउको पर्तीटोलमा पसलको सामान चोरी भएको विवादले दुखद रूप लिँदा एक महिलाको ज्यान गएको छ।
आज बिहान पसल चोरीको आरोपलाई लिएर भएको झगडामा स्थानीय मो सदिक मियाँकी ५० वर्षीया श्रीमती नुरजहाँ खातुनमाथि गरिएको कुटपिटबाट मृत्यु भएको हो। स्थानीयका अनुसार चोरीको निहुँमा उत्पन्न विवाद झगडामा परिणत भएपछि उनलाई आरोपित परिवारका सदस्यहरूले सामूहिक रूपमा कुटपिट गरेका थिए।
घाइते नुरजहाँलाई स्थानीयहरूले तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पु¥याएका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनामा संलग्न भएको आरोपमा तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिइएको छ। “मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ,” पालले जानकारी दिए।
स्थानीयहरूका अनुसार मृतक खातुनले खुट्टी खोलाको किनारमा छठ घाट नजिकै सानो किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। शनिबार बिहान एक युवकले पसलबाट सामान चोरेको भन्दै उनले सो युवकका हजुरबालाई गुनासो गरेकी थिइन्। त्यसपछि “मेरो नातिलाई चोर भन्न पायौ?” भन्दै युवकका परिवारका सदस्यहरूले उनलाई निर्घात कुटपिट गरेको बताइएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र कुटपिटमा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने भन्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।





































