आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जितेन्द्र प्रसाद सोनार (सोनल) प्रदेशको नयाँ मुख्यमन्त्री मा नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। आवश्यक समर्थनका प्रमाणसहित सोनारले नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेपछि उनलाई प्रदेश प्रमुखले नियुक्ति पत्र प्रदान गरेकी हुन्।
सोनारको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा विभिन्न दलहरूको सहकार्य हुने अपेक्षा गरिएको छ। उनले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेसँगै मधेस प्रदेशमा नयाँ राजनीतिक चरण सुरु भएको विश्लेषण राजनीतिक वृत्तले गरेको छ।
यसअघि प्रदेशको नेतृत्व जनमत पार्टीका सतिश कुमार सिंहले गरिरहेका थिए। सिंहले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
सोनारले मुख्यमन्त्री नियुक्त भएपछि भनेका छन्, “प्रदेशको विकास, सुशासन र नागरिक हितमा केन्द्रित सरकार सञ्चालन गर्नेछु।”
नयाँ मुख्यमन्त्रीको सर्तक नेतृत्वमा प्रदेशसभामा सरकार गठनपछि मन्त्रालयहरूको भागबण्डा र नीति–कार्यक्रम तय गर्ने तयारी थालिएको स्रोतले जनाएको छ।





































