आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाले हालैका वर्षात्का कारण प्रभावित परिवार र विद्यालयलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको मंगलवार बसेको विपत व्यवस्थापन समितिको बैठकले बर्दिवास–३ का रामबहादुर माझीकी पत्नी फुलमाया माझीको कच्ची घर २०८२/०४/०४ गतेको वर्षात्का कारण आंशिक क्षति भई २०८२/०४/२६ गते पुनः वर्षात्को कारण पूर्णरूपमा ध्वस्त भएको हुँदा सो घर पुनर्निर्माणका लागि आर्थिक सहयोग स्वीकृत गर्ने निर्णय गरेको हो। यस सम्बन्धमा वडाबाट सिफारिस तथा प्रहरी मुचुल्का समेत संलग्न रहेकाले नगरपालिकाले करिब १,लाख ९९,हजार ७सय८९ रुपैयाँ १० पैसा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै, बर्दिवास–३ पाटुस्थित श्री जनजागृति माध्यमिक विद्यालयका दुईवटा मुख्य प्रवेशद्वार वर्षात्का कारण क्षतिग्रस्त भई विद्यार्थी आवत–जावतमा समस्या भएको भन्दै विद्यालय र वडा कार्यालयबाट सिफारिस आएको थियो। यसलाई मध्यनजर गर्दै नगरपालिकाले करिब २,लाख ३२ हजार ३ सय २२ रुपैयाँ५८ पैसा विनियोजन गर्न समेत विपत व्यवस्थापन समितिले नगरपालिकालाई अनुरोध गरेको छ।
यस्तै, नगरका विभिन्न वडामा वर्षात्का कारण क्षतिग्रस्त भएका बाटोहरूको मर्मतका लागि आवश्यक बजेट वडास्तरीय विपद् व्यवस्थापन तथा विविध शीर्षक अन्तर्गत विनियोजन गरी खर्च गर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ।
बाढी र वर्षात्ले क्षति पुगेका पीडित परिवार र सार्वजनिक संरचनाको तत्काल मर्मत र पुनर्निर्माणका लागि नगरपालिकाले गरेको यो निर्णयले प्रभावित नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
