सरकार परिवर्तनको तयारीमा मधेश कांग्रेस, देउवालाई भेट्न टोली काठमाडाैं जाँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेशमा सरकार परिवर्तनको माग चर्किएसँगै नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको टोली सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं जाँदैछ। देउवासँगको भेट २५ भदौमा तय भएको छ।

आइतबार बसेको दलको बैठकले पूर्वसहमति कार्यान्वयनका लागि नेतृत्व परिवर्तनको माग गर्दै राजधानी जाने निर्णय गरेको हो। एक वर्षपछि सरकार कांग्रेसलाई हस्तान्तरण गर्ने समझदारी भए पनि जनमत पार्टीले सहमति तोडेको भन्दै कांग्रेस नेताहरू शीर्ष नेतृत्वलाई दबाब दिन लागेको हुन्।

हाल प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री सहभागी छन्। तर, सहमति उल्लंघन मात्र होइन, बजेट निर्माण प्रक्रियामा देखिएको बिचौलियाको प्रभाव र त्यसमा कांग्रेसकै अर्थमन्त्री सुनिलकुमार यादवको भूमिका विवादमा परेपछि नेताहरू असन्तुष्ट भएका छन्। प्रतिपक्षी जसपा र अन्य दलहरूले पनि यादवको राजीनामा माग गर्दै प्रदेशसभा बैठक लामो समयदेखि अवरुद्ध गरेका छन्।

कांग्रेसभित्र समेत अर्थमन्त्री यादवको कारण पार्टीको छवि कमजोर भएको भन्दै असन्तुष्टि बढेको छ। यसै कारण नेताहरूले केवल एक मन्त्री फिर्ता बोलाउनु भन्दा चारै मन्त्रीलाई जिम्मेवारीबाट हटाउने तयारीमा रहेको जानकारी दिएका छन्।

कांग्रेसका एक सांसदका अनुसार २२ जना सांसद २४ भदौमा जनकपुरबाट प्रस्थान गर्नेछन् र २५ भदौमा देउवालाई भेटेर प्रदेश सरकार परिवर्तनका लागि कदम चाल्न आग्रह गर्नेछन्।

यद्यपि, मधेश कांग्रेसको मागलाई सभापति देउवाले कसरी सम्बोधन गर्छन् भन्ने प्रष्ट छैन। तर, उनले यसअघि सार्वजनिक रूपमा मधेशमा चाँडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरिसकेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...