आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबासमा करिब एक दशकदेखि सेवा दिँदै आएको बर्दिबास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। २०६७ सालमा दर्ता भई २०६८ साल जेठ १ गतेदेखि औपचारिक कारोबार प्रारम्भ गरेको यस सहकारी संस्था आज मधेश प्रदेशकै एक उत्कृष्ट सहकारीका रूपमा परिचित छ।
नेतृत्वमा नयाँ ऊर्जा
वार्षिक साधारण सभासँगै सम्पन्न पाँचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाका पूर्व कोषाध्यक्ष सन्तोष कुमार श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्ष रेनुका हमाल, सचिव मदन कुमार ठकुरी, कोषाध्यक्ष हर्क बहादुर तामाङ तथा सदस्यमा कृष्ण कुमार श्रेष्ठ, हिमाली हमाल, अशोक महतो, सकुन्तला पोखरेल र खुराहरि अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिमा संयोजकका रूपमा माधव प्रसाद पोखरेल पुनः निर्वाचित भए भने सदस्यमा परशुराम जोशी र कुमार भण्डारी नयाँ अनुहारका रूपमा प्रवेश गरेका छन्।
सहकारी, समाज र सदस्य–मूलक गतिविधि
सभामा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्नेमा जोड दिएका थिए। उनले सहकारी संस्थालाई नगरपालिकाले हरेक सम्भाव्य क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।
संस्थाले आफ्नो १४औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो।
- ११ जना उत्कृष्ट सदस्यहरूलाई प्रमाणपत्र, खादा, अविर र सहकारी लोगो अंकित घडी प्रदान गरिएको थियो।
- ३ जना जेहेन्दार विद्यार्थीलाई जनही १५ हजार नगदसहित सम्मान गरिएको थियो।
- ४ जना ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई दोसल्ला, हर्लिक्स र १० कित्ता शेयर रकमसहित सम्मान गरिएको थियो।
- १ जना उत्कृष्ट कर्मचारीलाई ५० कित्ता शेयर, प्रमाणपत्र र घडीसहित सम्मान गरियो।
यति मात्र होइन, संस्था अब आगामी आर्थिक वर्षदेखि ७० वर्षभन्दा माथिका सदस्यहरूलाई मासिक ३०० रुपैयाँ भत्ता दिने निर्णयमा पुगेको छ। यस निर्णयलाई सहकारी गतिविधिमा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।
कारोबार र वित्तीय हैसियत
करिब ३,६०० सदस्यको संलग्नता रहेको यस संस्थाले हालसम्म करिब २३ करोड रुपैयाँको कारोबार गरेको छ। १८ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरिसकेको संस्थाले १ करोड ५२ लाख बराबरको जगेडा कोष र २ करोड ८२ लाख रुपैयाँ ऋण जोखिम कोष छुट्याएको छ।
बर्दिबास–१ मा रहेको मूख्य कार्यालयसँगै वडा नं. ६ किसाननगर र वडा नं. १० खयरमारामा सदस्य सेवा कार्यालय सञ्चालन गरी सहकारीले आफ्नो पहुँचलाई अझ व्यापक बनाएको छ।
भविष्यको दृष्टि
मधेश प्रदेशमै उत्कृष्ट सहकारीको रूपमा २०८०÷८१ मा सम्मानित संस्थाले अबको यात्रामा अझ पारदर्शिता, सदस्य–केन्द्रित सेवा र दिगो वित्तीय प्रणालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
सभामा सहभागिता जनाएका सरोकारवालाले “बचतलाई संस्कार, ऋणलाई उत्पादन र सहकारीलाई साझा आधार” बनाउन सके बर्दिबास बचत तथा ऋण सहकारी संस्था प्रदेशकै नमूना सहकारी बन्न सक्ने विश्वास व्यक्त गरेका थिए।





































