आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा साउन ३० गते राति भएको गोली प्रहार घटनामा एक जनाको ज्यान गएको छ। घटनामा संलग्न अभियुक्त धिरेन्द्र राय भन्ने धर्मेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेका बेला राति ८ बजेर २० मिनेट जाँदा मोटरसाइकलमा आएका दुई जनाले आक्रमण गरेका थिए। बीआर ३० एजी २३५४ नम्बरको मोटरसाइकल चलाइरहेका धर्मेन्द्रको पछाडि सिटमा बसेका व्यक्तिले पेस्तोल निकाली यादवको टाउकोमा गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै महोत्तरीको सम्सी गाउँपालिका–पर्सास्थित जानकी हेल्थकेयर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
गोली प्रहारपछि भाग्दै गरेका धर्मेन्द्र र उनका साथी चढेको मोटरसाइकल हरिपुर्वा–७ बसन्तपुर–बाँके–संग्रामपुर सडक खण्डमा दुर्घटनामा परेको थियो। दुर्घटनापछि मोटरसाइकलमा पछाडि बसेका शूटर फरार भए भने धर्मेन्द्रलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि लालबन्दी मोडेल अस्पताल हुँदै प्रादेशिक अस्पताल जनकपुर पु¥याएको थियो। उनलाई ३१ साउनमा डिस्चार्ज गरिएसँगै प्रहरीले हिरासतमा राखेको हो।
प्रारम्भिक अनुसन्धानमा रामपुकारका छोरा सुमित राय यादवसँगको व्यक्तिगत विवादकै कारण उनले आक्रमण गरेको स्वीकार गरेका छन्। प्रहरीको थप अनुसन्धान क्रममा मलंगवा–९ मा उनले लिएको डेराबाट एक थान नलकटुवा पेस्तोल र फायर भइसकेको गोलीको खोका समेत बरामद भएको छ।
यस्तै, प्रहरी अनुसन्धानले धर्मेन्द्रको आपराधिक घटनाको विगत समेत बाहिर ल्याएको छ। गत वर्ष असोज १० गते राति उनले आफ्नै घरमा श्रीमती चित्रलेखाकुमारी यादव र बुबा रामदिनेश रायमाथि गोली प्रहार गरेका थिए। उक्त घटनामा श्रीमती चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियो भने बुबा रामदिनेश गम्भीर घाइते भएका थिए। त्यसबेलै बुबाले धर्मेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्यज्यान र ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गरेका थिए। तर धर्मेन्द्र त्यतिबेलादेखि फरार रहेका थिए।
प्रहरीले हाल रामपुकार हत्याकाण्डसँगै विगतमा दर्ता भएको जाहेरीसमेत एकैसाथ अनुसन्धान अगाडि बढाएको जनाएको छ। साथै मोटरसाइकलमा धर्मेन्द्रसँगै रहेका र गोली प्रहार गरेर फरार भएका व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।





































