बर्दिवासमा भएको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मोडर्न गुरुकुल स्कुल प्रथम

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“ज्ञान, विज्ञान, सिप र मौलिकता, साझेदारी र प्रणालीगत साक्षरता“ भन्ने मूल मान्यता सहित महोत्तरीको बर्दिवासमा शुक्रबार अन्तरविद्यालय स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बर्दिवास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बर्दिवासमै पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा मोडर्न गुरुकुल स्कुल ९ अंक ल्याएर प्रथम, देउराली माध्यमिक विद्यालय ८ अंकसहित द्वितीय र ने.रा. माध्यमिक विद्यालय बिजलपुरा–चल्कीले ७ अंकसहित तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै, शैनिक आवासीय माध्यमिक विद्यालयले ५ अंक ल्याएर चौथो स्थानमा सीमित भएको छ।

नगरपालिकाले विजेता सम्पूर्ण विद्यालयलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको जनाएको छ। प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत गरी २९ विद्यालयले सहभागिता जनाएका थिए। हरेक समूहमा एक जना छात्राको सहभागिता अनिवार्य गरिएको थियो।

यसै क्रममा, बर्दिवास नगरपालिका भित्र शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने तथा शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय र विद्यार्थीलाई पनि पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रोमन निरौलाले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले विजयी विद्यालय एसईका उत्कृष्ट र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले बर्दिवासमा विभिन्न स्थानबाट विद्यार्थी भर्ना हुन आउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै केही विद्यालयको नतिजा शून्य हुनुमा दुःख व्यक्त गरे। नगर प्रमुख क्षेत्रीले “शून्य नतिजा आउने कारण पहिचान गरेर आगामी दिनमा सुधार गरिने” बताए। साथै, स्वास्थ्य र शिक्षा क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरीरहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि सुरु हुने शैक्षिक महोत्सवमा महोत्तरीका प्रत्येक नगरपालिकाबाट उत्कृष्ट एक विद्यालयलाई सहभागी गराएर नगरभित्रका विद्यालयहरुसंग प्रतिस्पर्धा गराइने योजना रहेको जानकारी दिए।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि अतिरिक्त क्रियाकलापलाई महत्वपूर्ण बताउँदै सामुदायिक तथा संस्थागत विद्यालयका वार्षिक अतिरिक्त क्रियाकलापहरूको क्यालेन्डर छपाई गरी वितरण गरिएको जानकारी दिए। उनले विद्यालय स्वयं सक्रिय भई विद्यार्थीलाई अभ्यास गराएर नगरस्तरीय अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धा गराउनुपर्ने आवश्यकता औंल्याए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...