औरही नगरपालिकामा आइतबार सार्वजनिक विदा, वडा अध्यक्ष योगी चौधरीको निधनप्रति श्रद्धाञ्जली

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको औरही नगरपालिकाले वडा नं. १ का अध्यक्ष योगी चौधरीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै आइतबार सार्वजनिक विदा दिएको छ। शनिबार ६५ वर्षीय चौधरीको निधन भएपछि नगरप्रमुख प्रदीप कुमार खड्काले एक शोक विज्ञप्ति जारी गर्दै “पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध छु” भन्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

विज्ञप्तिमा चौधरीलाई जनताको सेवामा समर्पित कर्मठ प्रतिनिधिका रूपमा स्मरण गरिएको छ। लोसपा पार्टीबाट निर्वाचित चौधरीले २०७९ को स्थानीय तह निर्वाचनमा ५२९ मत प्राप्त गरी वडा अध्यक्ष पदमा जितेका थिए। पालिकाले आइतबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्था (आकस्मिक बाहेक) लगायतका सबै सेवा बन्द रहने जनाएको छ।

चौधरीको निधनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सम्पूर्ण शुभेच्छुक, नेता तथा कार्यकर्तालाई शोकाकुल बनाएको लोसपा नगर संयोजक दरेश यादवले बताएका छन्। अन्त्येष्टिमा लोसपाका वरिष्ठ नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, नगरप्रमुख प्रदिप खड्का, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी भए। पार्टीको तर्फबाट दिवंगत चौधरीलाई झन्डा ओढाएर अन्तिम सम्मान गरिएको थियो।

अन्त्येष्टिमा महोत्तरी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भरत साह, सांसद जैलुन राइन, सांसद रमिता प्रधान, बर्दिवास नगरप्रमुख पहलाद क्षेत्री लगायतका जनप्रतिनिधि पनि उपस्थित थिए। सहभागी सबैले चौधरीको योगदानको स्मरण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...