आज्ञा खबर
सर्लाही
जनता समाजवादी पार्टी ९जसपा० नेपाल सर्लाहीका दुई वरिष्ठ नेताहरू – गणेशकुमार यादव र मुकेशकुमार पण्डित – ले आज एकैसाथ पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। लगभग दुई दशक लामो राजनीतिक सहयात्रा पछि उनीहरूले पार्टीसँगको सम्बन्ध पूर्णतः समाप्त गरेका हुन्।
मधेश आन्दोलनको सुरुवाती चरणदेखि सक्रिय राजनीतिमा होमिएका यादव र पण्डित सधैं जसपाकै झन्डामुनि संघर्षरत थिए। हरिपूर्वा नगरपालिका निवासी यादव जसपा सर्लाहीका वरिष्ठ उपाध्यक्ष थिए भने मलंगवा नगरपालिका निवासी पण्डित उपाध्यक्षको भूमिकामा थिए। उनीहरू दुबैजना पार्टीको सर्लाही जिल्ला कार्य समिति विघटन हुनु अघिसम्म नेतृत्व तहमै थिए।
राजीनामा पत्रमा उनीहरूले पार्टीभित्रको लामो समयदेखिको गुटबन्दी, आन्तरिक अव्यवस्था र स्थानीय नेतृत्वको गम्भीर उपेक्षालाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन्। सर्लाहीमा बढ्दो गुटउपगुटको प्रवृत्तिबारे पटक–पटक केन्द्रीय नेतृत्वलाई जानकारी गराए पनि आवश्यक सुनुवाइ नभएको गुनासो उनीहरूको छ।
“यो पार्टीमा अब राजनीतिक भविष्य देखिँदैन,” राजीनामा पत्रमा उल्लेख छ, “हामी हाम्रो राजनीतिक यात्राको सम्मानपूर्वक टुंगो लगाउँदै आजैदेखि साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गर्दैछौं।”
यादव र पण्डितले आफ्नो लामो राजनीतिक जीवनमा साथ दिने सबै कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै भविष्यमा नयाँ विकल्प खोज्ने संकेतसमेत दिएका छन्। उनीहरूको अन्य दलमा आबद्ध हुने सम्भावना प्रवल देखिएको छ।
जसपाबाट दुई पुराना र प्रभावशाली नेताको यो बहिर्गमनले सर्लाही जिल्लामा पार्टी संगठनमा थप खलबली मच्चाउने आँकलन गरिएको छ।
