आज्ञा खबर
बर्दिबास
सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी ३८ वर्षीय नरकुमार आचार्यको सवारी दुर्घटनामा परी ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
शनिबार दिउँसो घरायसी कामका लागि स्कुटरमा सवार भई बर्दिबासतर्फ जाँदै गरेका आचार्य र उनकी श्रीमती धनकुमारी घिमिरे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१० स्थित वनपथ क्षेत्रमा दुर्घटनामा परेका थिए। आचार्यले चलाएको मधेश प्रदेश ०२–००८प–६८३४ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको महोत्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सर्लाहीको हरिवन नगरपालिका–११ निवासी ४१ वर्षीय झनककुमार धमलाले तीव्र गतिमा लापरवाहीपूर्वक चलाएको प्रदेश २–०३–००१ख–६४६१ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका आचार्य दम्पतीलाई तत्काल उद्धार गरी बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारकै क्रममा नरकुमार आचार्यको शनिबार दिउँसो निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। धनकुमारी घिमिरेको भने अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।
