आज्ञा खबर
सर्लाही
सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित कामद गाउँमा जीर्ण घर भत्किँदा खेलिरहेका एक बालकको ज्यान गएको छ।
स्थानीय नवीन सिंहको पुरानो घर दिउँसो अचानक भत्किँदा ६ वर्षीय अरुण माझीको घटनास्थलमै मृत्यु भएको हो। मृतक माझी सोही वडाका गौतम माझीका छोरा हुन्।
स्थानीयका अनुसार सिंह परिवार सशस्त्र द्वन्द्वकालको समयमा, करिब २०६२ सालतिर गाउँ छाडेर काठमाडौं सरेपछि उक्त घर सुनसान अवस्थामा थियो। लामो समयदेखि प्रयोगमा नरहेको उक्त जीर्ण संरचनामा गाउँका बालबालिका दिनहुँ खेल्ने गर्थे।
आज दिउँसो त्यही घरको भग्नावशेषमा अरुण खेलिरहेको बेला पुरिएको स्थानीय ऋतुराज ऋषी (मुसहर) ले जानकारी दिए। उनले भने, “माटो र इँटा जोडेर बनाइएको त्यो घर हरेक वर्ष झन् जोखिमपूर्ण बन्दै गइरहेको थियो। बालबालिका खेल्न गएकै बेला आकस्मिक रुपमा ढल्यो।”
घर भत्किएपछि अरु बालबालिका पनि पुरिएको हुनसक्ने आशङ्कामा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डोजरको सहारामा खोजी अभियान चलाए। तर, थप कोही पुरिएको भेटिएन।
इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार, मृतक बालकको शव पोष्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको छ।
घटनाले कामद गाउँमा शोकको छाया छाएको छ। स्थानीयले जीर्ण संरचनाहरूको पहिचान गरी समयमै हटाउन सम्बन्धित निकायसँग माग गरेका छन्।





































