आज्ञा खबर
बर्दिवास
नेपाली हिन्दू समाजमा विशेष महत्व राख्ने साउन महिनाको पन्ध्रौँ दिन आज देशभर ’खिर खाने दिन’ को रूपमा मनाइँदैछ। परम्पराअनुसार आजको दिन विशेषगरी चामल, दूध, घ्यू र मेवा मिसाएर खिर पकाइने गरिन्छ र परिवारजनसँग बसेर ग्रहण गरिन्छ।
साउन महिनाभर व्रत, पूजापाठ र धार्मिक आस्थासँग जोडिएका विविध रीतिरिवाज पालना गरिने भए पनि साउन १५ लाई स्वाद र संस्कृतिको विशेष समागमको दिनको रूपमा लिइन्छ। खिर खाने चलनलाई नेपाली जनजीवनको मौलिकता र परम्परागत जीवनशैलीसँग जोडिएको पर्वको रूपमा लिने गरिन्छ।
बर्दिवासका स्थानीयवासी भगवती मैनाली भन्छिन्, “हाम्रो पालामा साउन १५ आउनु भनेको घरभर दूधको सुवास फैलिने दिन हो। आज पनि हामी छोरा–बुहारी र नातिनातिनासँग खिर खाँदै रमाइलो गरिरहेका छौं।“
शास्त्रीय मान्यताअनुसार खिरलाई सात्विक भोजन मानिन्छ र यसले शरीरलाई पोषण मात्र होइन, मानसिक सन्तुलन पनि दिन्छ। विशेष गरी व्रतालु महिलाहरूले हरितालिका तीजको पूर्व तयारी स्वरूप साउनभर धार्मिक आस्था र संयम अपनाउँछन्, जसको मधुर समापन खिर खाने दिनले झल्काउँछ।
आजको दिनलाई कतिपयले “परम्परा सम्झने दिन“ पनि भन्ने गर्छन्। काठमाडौंदेखि कञ्चनपुर, इलामदेखि बर्दिवाससम्म देशका विभिन्न भूभागमा घर–घरमा खिर पकाइएको छ। सामाजिक सञ्जालहरू खिरका फोटो र शुभकामनाले भरिएका छन्।
बजारमा दूधको खपत पनि अन्य दिनको तुलनामा आज उल्लेख्य रूपमा बढेको देखिएको छ। बर्दिवासको सिन्धुली चोकस्थित ओम शान्तिी दूध डेरीका सञ्चालक पुरुसोतम भट्टराईका अनुसार, “साउन १५ का दिन एकैपटक २–३ गुणा बढी दूधको माग हुन्छ। ग्राहकहरू खिर पकाउने भन्दै बिहानैदेखि दूध लिन आउनुहुन्छ।”
बर्खायामसँगै पर्ने यो पर्वले एकातर्फ मौसमी स्वादको आनन्द दिन्छ भने अर्कातर्फ पारिवारिक मिलन र सामूहिकता पनि थप सशक्त बनाउँछ।





































