आज्ञा खबर
बर्दिवास
रोटरी क्लब अफ बर्दिवासको अध्यक्ष पदमा ईन्द्र प्रसाद ढुंगेल (सिताराम) चयन भएका छन्। आइतवार बर्दिवासमा सम्पन्न पद हस्तान्तरण तथा सपथ ग्रहण समारोहमा वर्ष २०२४÷२५ का अध्यक्ष विष्णुराज पुरीले नयाँ कार्यकाल २०२५÷२६ का लागि ढुंगेललाई पद हस्तान्तरण गरेका हुन्।
त्यस अवसरमा क्लबका नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका थिए। सोही कार्यक्रममा रोटरी क्लब अन्तर्गतको युवा संगठन ‘रोट्र्याक क्लब अफ बर्दिवास’को अध्यक्षमा सरोज गजमेर चयन भएका छन्। निवर्तमान अध्यक्ष नारायण अधिकारीले गजमेरलाई पद हस्तान्तरण गरेका थिए।
समारोहमा प्रमुख अतिथि रहनु भएकी मधेश प्रदेश, महोत्तरी–१(क) क्षेत्रकी माननीय सांसद शारदा देवी थापाले रोटरी क्लबजस्ता विश्वव्यापी मानवसेवी संस्था समाज परिवर्तनमा प्रेरक शक्ति भएको बताइन्। उनले भनिन्, “रोटरीको मूल मान्यता सेवा हो। यसले कुनै पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्छ।” उनले रोटरी क्लबले गर्ने आगामी कार्यक्रमहरूमा सधैं सहकार्य रहने प्रतिवद्धता जनाइन्।
कार्यक्रममा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बोल्दै नगर विकासमा रोटरी क्लबले पु¥याएको योगदानको प्रशंसा गरे। उनले नगरपालिकासँग सहकार्यमा अघि बढ्ने संस्था वा समूहलाई प्राथमिकता दिने नीतिअनुसार काम भइरहेको उल्लेख गर्दै नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिए। “नगरको आधारभूत आवश्यकतामा टेवा पु¥याउनेतर्फ रोटरी क्लबको भूमिका अझ सशक्त बन्ने अपेक्षा गरिएको छ,” मेयर क्षेत्रीले भने।
पदभार ग्रहण गर्दै अध्यक्ष ईन्द्र प्रसाद ढुंगेल(सिताराम)ले रोटरी क्लब अफ बर्दिवासले शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरण संरक्षण जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै समाजमुखी रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले विगतको अनुभवलाई आधार मानेर आगामी दिनमा अझ सशक्त रूपमा क्लबलाई अघि बढाउने बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुराज पुरीले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै क्लबले सञ्चालन गरेका विभिन्न गतिविधिको जानकारी गराएका थिए। त्यसैगरी क्लबमा योगदान पु¥याउने सदस्य तथा अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।
रोटरी क्लब अफ बर्दिवासले विगतदेखि नै सामाजिक सेवाको क्षेत्रलाई केन्द्रमा राख्दै स्थानीय स्तरमा शैक्षिक बिकासबिद्यालयको स्तरोन्ती ,स्वास्थ्य शिविर, छात्रवृत्ति, सरसफाई अभियान, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।





































