आज्ञा खबर
बर्दिवास
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न बनेको महासन्धि सि.ई.डि.ए.डब्लु अन्तर्गत आदिवासी जनजाती महिला तथा किशोरीका अधिकार सम्बन्धी जेनरल रिकमेन्डेशन नम्बर ३९ मा आधारित दुईदिने तालिम महोत्तरीको बर्दिवासमा शनिबारदेखि सुरु भएको छ।
बर्दिवास–१ स्थित नमोबुद्ध होटलको सभाहलमा सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले महिला अधिकार, विशेषगरी आदिवासी जनजाती महिला र किशोरीको हकहित सुनिश्चित गर्न यस्ता तालिम आवश्यक रहेको बताए। उनले भने, “संविधानले दिएको समानता र समान अवसरको प्रत्याभूति व्यवहारमा लागू गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्न सक्छन्।”
तालिम राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ को आयोजनामा, मधेश प्रदेश समन्वय समिति को समन्वयमा र ओमेन काइन्ड संस्थाको सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रममा आदिवासी जनजाती महिला महासंघकी सुमित्रा महर्जन,सुमित्रा ताजपुरीया, एसुकान्ति भट्टचन र मुना मेचे ले सहजीकरण गर्दैछन्। सहजीकरणका क्रममा उनीहरूले महासन्धिको विधिक पक्ष, जेनरल रिकमेन्डेशन ३९ को औचित्य, आदिवासी जनजाती महिला तथा किशोरीले भोग्ने संरचनागत भेदभाव, र स्थानीय तहमा नीति निर्माणमा पहुँच अभावलगायत विषयमा छलफल गराउने बताइएको छ।
तालिममा महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने आदिवासी जनजाती महिला, किशोरी, तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको छ। सहभागीहरूलाई सि.ई.डि.ए.डब्लु महासन्धिको ऐतिहासिक पृष्ठभूमि, अन्तर्राष्ट्रिय अभ्यास, र नेपालमा यसको कार्यान्वयनको अवस्था समेत जानकारी दिइने आयोजकले जनाएका छन्।
कार्यक्रमको उद्देश्य सहभागीहरूमा अधिकारबारे स्पष्ट बुझाइको विकास गराउनुका साथै उनीहरूलाई आफ्ना समुदायमा चेतना फैलाउन सक्षम बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ।
दुई दिनसम्म चल्ने तालिमको समापन आइतबार गरिनेछ।





































