आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले युवायुवतीहरूलाई समाजको मेरुदण्डको रूपमा चित्रण गर्दै सुन्दर समाज निर्माणको प्रमुख संवाहकहुँन भनेका छन्।
महोत्तरीको बर्दिवास नगरपालिका–सामाजिक संस्था “युवा सञ्जाल बर्दिवास” को तेस्रो साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै उनले बालविवाह न्यूनीकरणका लागि बालबालिका स्वयं सचेत हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “युवाको सक्रियता बिना समावेशी, सुरक्षित र न्याययुक्त समाजको परिकल्पना सम्भव छैन। विशेषतः बालश्रम, शारीरिक तथा मानसिक शोषण, लागुऔषध दुव्र्यसनजस्ता समस्याको अन्त्यका लागि युवाको सहभागिता अपरिहार्य छ।”
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले बालबालिकामा हुने मानसिक, शारीरिक शोषण, बालश्रम, लागुऔषध दुव्र्यसन र समाजका हरेक क्षेत्रमा बालबालिकाको समानुपातिक सहभागिता जस्ता विषयमा धारणा राखेका थिए।
संस्थाका नव निर्वाचित अध्यक्ष सुरीन्दर साह ले संस्था स्थापनाको छोटो अवधिमै शिक्षा, सरसफाइ, धर्म तथा संस्कृतिको जगेर्ना, रक्तदान जस्ता सामाजिक कार्यहरूमा संस्थाले उल्लेखनीय योगदान दिएको जानकारी दिए।
संस्थाको साधारण सभाबाट नयाँ कार्य समिति समेत गठन गरिएको छ। सुरीन्दर साहको अध्यक्षतामा गठित ११ सदस्यीय कार्य समितिमा निम्न व्यक्तिहरू चयन भएका छन् ः
अध्यक्ष ः सुरीन्दर साह
उपाध्यक्ष ः रन्जु कुमारी साह
सचिव ः जमुना बिश्वकर्मा
सह–सचिव ः आशा कुमारी महतो
कोषाध्यक्ष ः आशा कुमारी साह
सदस्यहरू ः
सुरज सदा
राज कुमार श्रेष्ठ
सपना खड्का लगायतका रहेका छन।
त्यसैगरी संस्थाले आगामी दिनमा बाल अधिकार, महिला सशक्तिकरण, युवा नेतृत्व विकास र वातावरण संरक्षणका क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएको छ।
सभामा नगरभित्रका विभिन्न प्रतिनिधि, युवा अभियन्ता, जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।





































