सीमा पार तस्करी नियन्त्रणमा कडाइ: महिनाथपुर नजिक भारतीय एसएसबी र तस्करबीच झडप, तीन घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर

धनुषा 

नेपाल–भारत सीमा क्षेत्र फेरि एकपटक तनावमा आएको छ। बुधबार बिहान धनुषाको महिनाथपुर नजिकै भारत–नेपाल सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सीमा पार तस्कर समूहबीच झडप भएको छ। झडपमा दुई जना एसएसबी जवान र एक नेपाली नागरिक घाइते भएका छन्।

घटनास्थल भारतको सीमावर्ती गाउँ नजिकै रहेको ‘नो म्यान्स ल्यान्ड’ क्षेत्र हो। भारतीय सञ्चारमाध्यमका अनुसार, तस्कर समूहले दुई पटक सीमा पार गरेर खाद्य सामग्री नेपाल भित्र्याइसकेका थिए। तेस्रोपटक पनि सामान ल्याउन खोजेपछि एसएसबीले रोक्ने प्रयास गरेको थियो, जसले झडपको रुप लिएको हो।

झडपका क्रममा गोलीसमेत चलेको जनाइएको छ। एसएसबीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाइ फायर गरेको बताइएको छ। झडपमा २२ वर्षीय एसएसबी जवान राज गौडको बायाँ खुट्टामा गोली लागेको छ भने २८ वर्षीय राजुकुमार राम ढुंगामुढामा परेर घाइते भएका हुन्। दुवैको उपचार अहिले दरभंगा मेडिकल कलेज अस्पतालमा भइरहेको छ।

स्थानीय स्रोतहरूका अनुसार, धनुषाको महोत्तरी गाउँपालिका–१ का महेन्द्र पासवानका छोरा भरत पासवानले झडपका क्रममा एसएसबी जवानको राइफल खोस्ने प्रयास गरेका थिए। त्यसक्रममा उनको कम्मरमा गोली लागेको र हाल दरभंगास्थित एक निजी अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

घटनाको पुष्टि गर्दै भारतीय समाचार संस्था ‘जागरण’ ले सीमा सुरक्षामा कडाइ गर्दा भारतीय पक्षमा तस्करहरूसँग भिडन्त हुन थालेको उल्लेख गरेको छ। उता नेपाली सुरक्षातर्फबाट भने घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रहरी स्रोतले जवानलाई गोली लागेको भन्ने दाबीको पुष्टि गर्न नसकेको जनाएको छ।

स्थानीय नागरिकहरूका अनुसार महिनाथपुर क्षेत्र तस्करीका लागि संवेदनशील बिन्दु हो, जहाँ चोर बाटो प्रयोग गरेर दैनिक उपभोग्य वस्तु नेपाल भित्र्याउने गतिविधि बारम्बार हुने गर्छन्। यसपटक एसएसबीको निगरानी कडाइ भएपछि अवस्था तनावग्रस्त बनेको हो।

यस घटनाले नेपाल–भारत सीमामा बढ्दो असुरक्षालाई फेरि एकपटक उजागर गरेको छ। सीमापार समन्वय र तस्करी नियन्त्रणमा दुवै देशका निकाय गम्भीर भएर अघि बढ्नुपर्ने आवाज उठ्न थालेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...