नक्कली फुकुवा पत्र बनाएर रोक्का जग्गा बिक्री: अदालतको नाम दुरुपयोग गर्ने संजित चौधरी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

बारा
बारा जिल्ला अदालतको नाम दुरुपयोग गर्दै नक्कली फुकुवा पत्रमार्फत रोक्का गरिएको जग्गा बिक्री गर्ने योजनामा संलग्न अभियुक्त संजित चौधरी प्रहरीको फन्दामा परेका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–१ का संजित चौधरीले अदालतको लेटरप्याड, छाप, चलानी नम्बर र श्रेस्तेदारको दस्तखत स्क्यान गरी किर्ते फुकुवा आदेश तयार पारेका थिए। यही नक्कली कागजातको भरमा बारा मालपोत कार्यालय सिमराबाट रोक्का रहेको कित्ता नम्बर ५४३ को ०–७–० क्षेत्रफलको जग्गा फुकुवा गराएर दिपेन्द्र कुमार गुप्ताको नाममा बिक्री गरिएकाे अनुसन्धानबाट खुलेको छ।

उक्त जग्गा यसअघि पवन साहले चन्द्रिका धामीसँगको लेनदेन विवादका कारण अदालतमार्फत रोक्का गराएका थिए। रोक्का जग्गामाथि नै नक्कली आदेश देखाएर चौधरीले आफ्नो योजना कार्यान्वयनमा ल्याएका थिए।

स्क्यान र टाइप गरेर बनाइयो ‘अदालतको आदेश’

बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, चौधरीले अदालतको पुरानो फुकुवा पत्रको प्रतिलिपि प्राप्त गरेर त्यसैमा आधारित सामग्री टाइप गरी मिल्दोजुल्दो फाँट तयार गरे। त्यसपछि अदालतको लोगो, छाप र दस्तखत स्क्यान गरेर त्यसलाई ‘साँचो’ बनाइ अदालतकै आधिकारिक कागजातझैँ प्रस्तुत गरेका थिए।

अनुसन्धानको क्रममा चौधरीले अदालतको कागजको नक्कल गरेर किर्ते कागजात तयार पारेको स्वीकार गरेका छन्।

बुवा फरार, छोरा प्रहरी नियन्त्रणमा

यस प्रकरणमा चौधरीका बुवा मोति धामी थारुको पनि संलग्नता देखिएको भए तापनि उनी हाल फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, उनीहरू मिलेर योजनाबद्ध रूपमा अदालतको नाममा ठगी गर्ने उद्देश्यले यस्तो काम गरेका हुन्।

संजित चौधरीलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ। अनुसन्धानपछि उनीमाथि दस्तावेज किर्ते, ठगी र सरकारी कागजातको दुरुपयोग सम्बन्धी कानुनी कारबाही अघि बढाइनेछ।

अदालतको अधिकारको दुरुपयोगप्रति चासो

अदालतको नाम, छाप र दस्तखत समेत प्रयोग गरेर नक्कली कागजात तयार पारिनु बारा अदालतकै लागि गम्भीर चुनौतीको विषय बनेको छ। यसले न केवल कानुनी प्रणालीप्रति प्रश्न उठाएको छ, तर सरकारी कागजातहरूको सुरक्षाबारे पनि चिन्ता थपेको छ।

यस घटनाले अदालत तथा मालपोत कार्यालयमा प्रस्तुत गरिने कागजातको प्रमाणिकता परीक्षण र सचेतनाको खाँचो औँल्याएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...