वीरगन्ज–पर्सा सुक्खाग्रस्त घोषणा गर्न आठ दलको माग,राहत प्याकेजको दबाब

[sharethis-inline-buttons]

आज्ञा खबर
बीरगंज

पर्सा जिल्लामा पानीको अभाव चरम अवस्थामा पुगेपछि वीरगन्ज महानगरपालिका र आसपासका क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग राजनीतिक दलहरूले उठाएका छन्।

मंगलबार वीरगन्जमा बसेको सर्वदलीय बैठकले संघीय सरकारसमक्ष वीरगन्ज महानगर र पर्सा जिल्लालाई सुक्खाग्रस्त घोषणा गरी विशेष राहत प्याकेज तत्काल उपलब्ध गराउन माग गर्दै औपचारिक निर्णय गरेको हो।

सुक्खा, खडेरी र सुकेका चापाकल
पछिल्लो एक महिनादेखि पर्सा जिल्लामा परेको खडेरीका कारण अधिकांश चापाकल सुकेका छन्। वीरगन्ज महानगरका बस्तीहरूमा पानीका लागि दिनहुँ हाहाकार भइरहेको छ। खानेपानी संस्थान र महानगरपालिकाको प्रयास अपुग देखिएको भन्दै सर्वदलीय बैठकले समस्या समाधानका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको हो।

संयुक्त टोली र सर्वदलीय अनुगमनको तयारी
संकट समाधानका लागि सर्वदलीय बैठकले वीरगन्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र अन्य सरोकारवालासँग छलफल गर्न दलहरूको संयुक्त टोली पठाउने निर्णय पनि गरेको छ। त्यस्तै, सरकारी निकायहरूले खानेपानी समस्या समाधानका लागि गरिरहेका प्रयासको सर्वदलीय अनुगमनसमेत गर्ने बताइएको छ।

प्रदेश सरकारलाई पनि ध्यानाकर्षण
सर्वदलीय बैठकले मधेस प्रदेश सरकारसमक्ष पनि राहत प्याकेज माग गर्ने निर्णय गरेको छ। एमाले पर्साका सचिव महेश दासका अनुसार “यस्तो बेलामा संघीय र प्रदेश दुवै सरकारले समन्वय गरेर नागरिकलाई राहत दिनुपर्छ।”

दलहरूको ऐक्यबद्धता
बैठक नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र जसपा नेपालका शीर्ष नेताहरूको उपस्थिति थियो। सबैले साझा संकटको बेला एकताबद्ध भएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...