गौशालामा सामूहिक राजीनामा: ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापक एकैपटक पदबाट बाहिरिए

[sharethis-inline-buttons]

आज्ञा खबर
गौशाला (महोत्तरी)

महोत्तरीको गौशाला नगरपालिकामा कार्यरत सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्।

मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाभित्रका ३१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले एकैपटक राजीनामा बुझाएका हुन्। साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख उनीहरूको पत्रमा छ।

राजीनामा दिने प्रधानाध्यापकहरूले आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा समेत विद्यालय सञ्चालनका लागि अत्यावश्यक रकमहरूको निकासा नगरपालिकाले नगरेको गुनासो गरेका छन्।

“विद्यालय सञ्चालन गर्नै नसक्ने स्थितिमा पुग्यौं,” एक प्रधानाध्यापकले भने, “नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि ध्यान नदिएपछि अन्ततः राजीनामाको बाटो रोज्नुपर्‍यो।”

सामूहिक राजीनामा पत्रमा विद्यालय सञ्चालनका लागि अनिवार्य रहेका दिवा खाजा, पाठ्यपुस्तक, नन–स्यालरी शिर्षक, नगर शिक्षक तथा नगर अनुदान शिक्षकहरूको तलब, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकका रकमहरू समेत अत्यन्त न्यून मात्रामा निकासा गरिएको उल्लेख गरिएको छ।

पटक–पटक ताकेता गर्दा पनि आलटाल गरिएको भन्दै उनीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। राजीनामा पत्रसँगै उनीहरूले पछिल्लोपटक सम्पन्न प्रधानाध्यापकहरूको बैठकमा गरिएका निर्णयहरू पनि नगरपालिकामा बुझाएका छन्।

यस घटनाले पालिकाका विद्यालयहरूमा गम्भीर शैक्षिक संकट उत्पन्न हुन सक्ने चिन्ता अभिभावक र स्थानीयवासीले व्यक्त गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...