आज्ञा खबर
महोत्तरी
महोत्तरीको डिभिजन बन कार्यालयभित्र सुचना प्रकाशन तथा प्रसारणको कार्य “सेटिङ्ग“ अनुसार चल्दै आएको खुलासा भएको छ। बन संरक्षण र बन क्षेत्रको कार्य एकातिर छँदा, बन संरक्षणसम्बन्धी सुचना प्रवाह अर्कै ढंगले, पहुँचवालाहरूको प्रभावमा निर्भर रहेको देखिएको छ।
डिभिजन बन अधिकृत (डिएफओ) स्तरमै सुचनाको प्रकाशन तथा बजेट व्यवस्थापन पहुँचवालाको हातमा सीमित हुँदै जाँदा, वास्तविक बन संरक्षण गर्ने व्यक्ति र संस्थाहरूको न मूल्याङ्कन गरिएको छ, न त उनीहरूको योगदानको कदर गरिएको छ।
“जसले सधैँ बन जोगाउँछन्, उनीहरू सधैँ ओझेलमा परिरहन्छन्,“ एक स्थानीयरूपमा सक्रिय बन संरक्षणकर्मीले भने। “डिभिजन बन कार्यालयमा सुचनाको रकम सधैँ दुरुपयोग हुने गरेको छ, हामीजस्ता स्थानीय संरक्षणकर्मी र सञ्चारमाध्यम सधैँ बेवास्तामा पर्ने अवस्था छ।“
बन संरक्षणको नाममा भइरहेका कार्यक्रमहरूको प्रचारप्रसारमा समेत पहुँचवालामात्रै केन्द्रित गरिनु र स्थानीय बन जोगाउने र यसक्षेत्र भित्रका सञ्चारसंस्थाहरूलाई उपेक्षा गर्नु गम्भीर विषय बनेको छ। महोत्तरी डिभिजन बन कार्यालयका हाकिम स्वयं बन संरक्षणप्रति गम्भीर नभएको आरोपसमेत उठेको छ।
“सुचनाको बजेट आउँछ, तर त्यसको उपयोग देखिँदैन। केही निश्चित व्यक्तिहरूलाई मात्रै फाइदा पुग्ने ढंगले प्रचारप्रसार गरिन्छ,“ अर्का एक पत्रकारले बताए।
बन संरक्षण एक संवेदनशील र दीर्घकालीन प्रक्रिया हो, जसमा समुदाय, संचार, र कार्यालयबीच सहकार्य आवश्यक पर्छ। तर महोत्तरीको हालको अवस्थाले त्यो सहकार्यमा चरम असन्तुलन देखाएको छ।
स्थानीय बासिन्दाहरूले पारदर्शिता, समावेशिता, र परिणाममुखी बन प्रशासनको माग गर्दै डिभिजन बन कार्यालयलाई तत्काल सचेत र जवाफदेही हुन आग्रह गरेका छन्।





































