आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–५ स्थित सेम नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नव निर्मित चारकोठे भवनको आइतवार एक समारोहबीच उद्घाटन गरिएको छ। समारोहमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरपालिकाको बजेटको ठूलो हिस्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमै खर्च भइरहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले नगर विकासको मेरुदण्डका रूपमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट गरे। “हामीले शिक्षा र स्वास्थ्यलाई नगर विकासको मेरुदण्ड मानेका छौँ,” उनले भने, “नगरपालिकाको बजेटको ठूलो हिस्सा यी दुई क्षेत्रमा केन्द्रित छ। यसबाट हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित हुनेछ भन्ने विश्वास लिएको छु।”
उनले विद्यालयको आधारभूत संरचना बलियो बनाउने काममा नगरपालिका दृढताका साथ लागिपरेको जनाउँदै सेम नेपाल विद्यालयको घेराबाराको समस्या समेत यसै आर्थिक वर्षको बजेटबाट समाधान गरिने जानकारी दिए। “नगरक्षेत्रभित्रका सबै विद्यालयलाई समान दृष्टिकोणले हेरिएको भए पनि सबै समस्याहरू एकैपटक समाधान गर्न सकिँदैन,” उनले भने, “तर प्राथमिकता र आवश्यकताको आधारमा क्रमशः सबै समस्याहरू समाधान गर्दै जाने छौँ।”
विद्यालयको नव निर्मित चारकोठे भबन निर्माण समितिका अध्यक्ष ओमध्वज बस्नेतले भवन निर्माणबारे जानकारी दिँदै नगरपालिकाको लगानी, स्थानीय सहयोग र विद्यालय परिवारको सक्रियता नै परियोजना सफलताको मुख्य आधार रहेको बताए। उनका अनुसार चारकोठे यो भवन आर्थिक वर्ष २०७९÷८० मा सुरु भई २०८० साल चैत २० गते सम्पन्न भएको हो। भवन निर्माणमा कुल रु ४२ लाख ५२ हजार ३३४ रुपैयाँ ४५ पैसा लागत लागेको छ।
स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले भवन निर्माणले सिकाइको वातावरण सहज बनाउने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गरेका छन्। विद्यालय परिवारले समेत शिक्षा क्षेत्रमा निरन्तर सक्रिय नगर प्रमुख क्षेत्रीलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





































