आज्ञा खबर
पर्सा
पर्साको बहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरको सिमानामा पर्ने तिलाबे खोलामा सडक विभागले यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो कार्य अलपत्र परेको छ। विभागले उक्त कार्यका लागि गरिएको स्टिल बेलिब्रिजको ठेक्का प्रक्रिया रद्द गरेको छ।
विसं २०८१ को मनसुनमा आएको बाढीले तिलाबे पुलको पिलर र फाउन्डेसनमा क्षति पुर्याएपछि पुल जोखिममा परेको हो। हाल सो पुलबाट सवारी आवागमन रोकिएको छ भने पैदल यात्रु पनि जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेकाले ठेक्का रद्द गर्नुपरेको हो।
“सडक विभागले चालु आर्थिक वर्षभित्रै बेलिब्रिज जडान तथा एप्रोच सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीन करोड ३० लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको थियो,” प्रमुख पटेलले जानकारी दिए, “एक साताभित्र काम सुरु हुने गरी बोलपत्र मागिएको थियो तर वर्षा सुरु भइसकेकाले प्रक्रिया अघि बढ्न सकेन।”
उनका अनुसार अब आर्थिक वर्षको प्रारम्भसँगै बेलिब्रिज जडान तथा सडक एप्रोच निर्माणको प्रक्रिया पुनः सुरु गरिनेछ।
तिलाबे खोलामा बेलिब्रिज नजोडिँदा वर्षायाममा स्थानीयवासी, विद्यार्थी, बिरामी र कृषकहरूलाई ठूलो सास्ती भएको छ। पूर्वी पर्साका ग्रामीण क्षेत्रलाई वीरगञ्जसँग जोड्ने यो मार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।





































