आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका विवादका कारण प्रदेशसभा बैठक आज तेस्रो दिन पनि सञ्चालन हुन सकेन। विपक्षी दलहरूले बजेटमा ‘बिचौलियाको प्रभाव’ रहेको भन्दै पुनर्लेखनको माग गर्दै निरन्तर अवरोध गरिरहेका छन्।
जसपाबाट शुरू भएको अवरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीसमेत सामेल छन्।
विपक्षी दलहरूको कडा विरोधकै बीच सभामुख रामचन्द्र मण्डलले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि पुनः स्थगित गरे।
आजको बैठक सुरु हुनासाथ शून्य समयमा विभिन्न दलका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरे। राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंह, जसपाकी किरणकुमारी शाह, माओवादी केन्द्रकी शारदा पहाडी र नेकपा एसका प्रमोद यादवले बजेटमा बिचौलियाहरूको संलग्नता रहेको आरोप लगाउँदै पुनर्लेखन नभएसम्म बैठक अघि बढ्न नदिने चेतावनी दिए।
यता, सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले भने विपक्षीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, “बजेटको बहानामा सदनलाई बन्दी बनाउनु अनुचित हो। सदन चल्न थालेपछि मात्र छलफलमार्फत सुधार र समालोचना सम्भव हुन्छ।”
सदनमा जारी गतिरोधका कारण बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ। यदि यस्तो अवस्था लामो समयसम्म जारी रह्यो भने सरकारको नीति तथा कार्यक्रम र विकास योजनाहरू प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।
