गौशाला नगरपालिकाको कागजात अख्तियारले गर्याे संकलन, अनुसन्धानको दायरामा बहु योजना

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयको टोलीले गौशाला नगरपालिकाका विभिन्न योजना तथा कार्यसम्पादनसँग सम्बन्धित कागजातहरू संकलन गरेको छ। आयोगको टोली आइतबार साँझ गौशालास्थित नगर कार्यालय पुगेको र आवश्यक फाइल तथा दस्तावेज नियन्त्रणमा लिएको आयोगको स्रोतले जनाएको छ।

आयोगको टोली साँझ ५ बजेतिर कार्यालय पुगेको थियो भने करिब तीन घण्टा रहँदा कर्मचारीहरूसँग सोधपुछ गर्दै केही महत्वपूर्ण कागजातहरू संकलन गरेको जानकारी प्राप्त भएको छ। टोलीले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजना र कार्यक्रममा सम्बन्धित सक्कल कागजातहरू उठाएको हो।

जसअनुसार गौशाला बहुमुखी क्याम्पसलाई दिइएको अनुदान, बजार ठेक्का, वडा तहमा सञ्चालन भएका तालिम तथा खेलकुद कार्यक्रम, सडक निर्माण र उपभोक्ता समितिमार्फत भएका पूर्वाधार निर्माणका फाइलहरू आयोगले अनुसन्धानका लागि लगेको स्रोत बताउँछ।

नगरपालिकामा केही समयदेखि राजनीतिक तथा प्रशासनिक असमझदारी देखिँदै आएको थियो। नगर प्रमुख डा. दिपेन्द्र महतो र उपप्रमुख रेणु कुमारी महतोबीचको विवाद झन् चर्कँदै गएको पाइएको छ। केही हप्ता अघिमात्रै उपप्रमुख महतोले नगरपालिकाका दर्ता–चलानी पुस्तिका आफैँ नियन्त्रणमा लिएर अख्तियार कार्यालयमा बुझाएकी थिइन्। त्यसको प्रतिक्रियामा नगर प्रमुखले उपप्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णय गरेका थिए।

अन्तरकलह र आपसी अविश्वासबीच नगर कार्यसम्पादनमा समेत असर परिरहेको स्थानीयवासी र कर्मचारीहरूले बताएका छन्। यता अख्तियारको छानबिनसँगै नगरपालिकाभित्रका अनियमितता र प्रशासकीय झमेलाको थप पर्दाफास हुने आशा गरिएको छ।

नगर प्रमुख वा उपप्रमुखबाट यसबारे औपचारिक धारणा आउन बाँकी छ। अख्तियारले प्रारम्भिक संकलनपछि थप अनुसन्धान अघि बढाउने संकेत दिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...