आज्ञा खबर
बर्दिवास
ओठ तथा तालु फाटेका बिरामीहरूको पहिचान तथा उपचारका लागि बर्दिवास नगरपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
तहाँ फाउण्डेशन, बयोधा अस्पताल बल्खु काठमाडौंको पहलमा यहि असार १५ गते बर्दिवास नगरपालिकामा पठाइएको पत्रअनुसार बर्दिवास क्षेत्रमा जन्मिंदै ओठ तथा तालु फाटेका बिरामीहरूका लागि निःशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया गरिने उद्देश्यले शिविर सञ्चालन गर्न अनुमति मागिएको थियो। अस्पतालको माग अनुसार नगरपालिकाले आफ्ना सम्पूर्ण स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई संलग्न गराउँदै शिविर सञ्चालनको अनुमति दिएको हो।
शिविरको कार्यतालिका अनुसार, यहि असार २९ गते — शहरी स्वास्थ्य केन्द्र, बर्दिवास नगरपालिका–५ टुटेश्वर,असार ३० गते — बिजलपुरा स्वास्थ्य चौकी, बर्दिवास नगरपालिका–१३ र असार ३१ गते — आधारभूत स्वास्थ्य केन्द्र, बर्दिवास नगरपालिका–१४ मा शिविर सञ्चालन हुनेछ।
शिविरमा सहभागी हुने बिरामीहरूलाई विशेष सुविधा उपलब्ध गराइनेछ। जसअनुसार,
बिरामी तथा अभिभावकलाई यातायातको व्यवस्था
बसोबास र खानपानको खर्च निःशुल्क
सम्पूर्ण स्वास्थ्य परीक्षण, औषधि उपचार तथा शल्यक्रिया निःशुल्क गरिनेछ।

उक्त शिविरमार्फत छनोट गरिएका बिरामीहरूको शल्यक्रिया बयोधा अस्पताल काठमाडौंमा गरिनेछ। नगरपालिकाले बर्दिवासका सबै वडामा सूचना पु¥याउँदै आवश्यक समन्वय र सहजीकरणको जिम्मा सम्बन्धित स्वास्थ्य संस्थालाई दिएको बताईएको छ।
बर्दिवासमा सञ्चालन हुन लागेको शिबिरको यस्तो किसिमको अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका बिरामीहरूलाई राहत पुग्ने नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । उनले भने,बर्दिवास नगरलाई स्वास्थ्यमैत्री नगर बनाउने अभियानमा यो अभियानले थप टेवा पुग्नेछ।
