बर्दिवास मेडिकल कलेजको निर्माण अघि बढाउन मरहा खोलामा वृक्षारोपण,

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
लामो समयदेखि विभिन्न कानुनी अड्चनले रोकिएको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य पुनः अघि बढाउने उद्देश्यसहित महोत्तरीको बर्दिवास–५ स्थित मरहा खोलामा वृक्षारोपण गरिएको छ। राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसर पारेर शनिबार जामुन जातका दुई सय बिरुवा रोप्दै कलेज पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन सहयोग गरीएको हो।

वृक्षारोपण कार्यक्रम बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको आयोजनामा, डिभिजन वन कार्यालय महोत्तरीको सहकार्य र बर्दिवास नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले मेडिकल कलेज निर्माणको लागि तय गरिएको जग्गामा कसैको व्यक्तिगत स्वामित्व नरहेको स्पष्ट पारे। उनका अनुसार वडानम्बर ५ र १० का वडाअध्यक्षले नापजाँच गराई जग्गासम्बन्धी विवरण नगरपालिकामा बुझाइसकेका छन्।

नगरप्रमुख क्षेत्रीले भने, “कानुनी अड्चन हटाई निर्माणकार्य शीघ्र थाल्न मरहा खोलाको १२.२९ हेक्टर नदी उकास क्षेत्रको जग्गामा आवश्यक बिरुवा रोपिदै छ।” उनका अनुसार वातावरणीय सन्तुलन कायम राख्दै भविष्यमा रूख कटान गर्नु परे त्यसको क्षतिपूर्ति स्वरूप बढी रूख रोप्ने कार्य अघि बढाइएको हो।
२०७८ साल माघ महिनामा मेडिकल कलेजको निर्माण रोक्न दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले २०८० जेठ २९ गते खारेज गरेपछि आयोजना अघि बढ्ने बाटो खुलेको हो। अदालतले निर्णयमा उल्लेख गर्दै प्रस्तावित वन क्षेत्रभित्र रहेका १ हजार ९ सय ६७ वटा रूख काट्नुअघि त्यसको १० प्रतिशत बढी रूख रोप्न र रोपिएका बिरुवाको संरक्षणसहित नियमित अनुगमन गर्न स्पष्ट निर्देशन दिएको थियो।

कार्यक्रममा बोल्दै आयोजनाका निर्देशक निर्मल घिमिरेले प्रस्तावित क्षेत्रका सबै रूख काटिने नभई आधाभन्दा कम मात्र रूख काटिने जानकारी दिए। उनका अनुसार अधिकांश संरचना रुख नभएको क्षेत्रतर्फ पारिने भएकाले धेरैजसो रूख जोगिनेछन्। “प्रस्तावित क्षेत्रभित्र साना–ठूला गरी एक हजार ९ सय ६७ रूख छन्। तीमध्ये आधाभन्दा कम मात्र रूख काट्ने गरी काम अगाडि बढाइनेछ,” घिमिरेले भने।


वृक्षारोपणपछि अब मेडिकल कलेजको निर्माण अघि बढाउन आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। आयोजनाले जानकारी दिएको अनुसार जग्गाको भोगाधिकारसम्बन्धी फाइल वन तथा वातावरण मन्त्रालयबाट टुंगिएको छ। अब विस्तृत परियोजना प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि काम अघि बढ्नेछ।

प्रस्ताव अनुसार, एक हजार शैयाको अत्याधुनिक अस्पतालसहितको कलेज निर्माण गर्नका लागि २८ अर्ब ५४ करोड रुपैयाँको बजेट आवश्यक पर्नेछ। निर्माणस्थलका रूपमा प्रस्तावित बर्दिवास–४ को माईस्थानस्थित अटाबे खोल्सी पूर्व र भब्सी खोला पश्चिमको ५४.५८४ हेक्टर वन क्षेत्रको भूभाग चयन गरिएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रममा देशका सातवटै प्रदेशमा एक–एकवटा सरकारी मेडिकल कलेज स्थापना गर्ने नीति ल्याएको थियो। सोही नीति अन्तर्गत मधेस प्रदेशका लागि बर्दिवासलाई छनोट गरिएको हो। कलेजले निर्माण सम्पन्न भएपछि मधेसका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्साशास्त्र अध्ययनका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बर्दिवास नगरपालिका, डिभिजन वन कार्यालय, स्थानीय सरोकारवाला र सामुदायिक प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। आयोजकका अनुसार वृक्षारोपणले निर्माण कार्यसँगै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण सन्देश दिएको छ।

मेडिकल कलेजको कार्य अघि बढाउन अब कुनै प्रमुख कानुनी बाधा नरहेकाले निर्माण प्रक्रिया छिट्टै औपचारिक रूपमा शुरू हुने अपेक्षा गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...