नगरको नि–शुल्क रगत बर्दिवासमा जीवन रक्षाको अभियान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
“मेरो श्रीमानको अपरेसन थियो, रगत चाहिन्थ्यो। हातमुख जोडेर कहाँ–कहाँ माग्ने भन्ने चिन्तामा थियौं। अस्पतालले भन्यो, ‘रेडक्रस जाऊ, बर्दिवास नगरपालिकाले निःशुल्क रगतको व्यवस्था गरेको छ।’ अनि, हाम्रो आशा फेरि जु¥यो,”भन्छिन् बर्दिवास–७ की सिता महतो।
बर्दिवास नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तरर्गत नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालेको निःशुल्क रगत वितरण कार्यक्रमले यस्ता सयौं परिवारलाई राहत दिएको छ। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको निर्देशनमा, नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिवास अन्तरर्गतको रक्तसञ्चार केन्द्र,सँगको सहकार्यमा यो अभियान शुरु गरिएको हो।
नगर प्रमुख क्षेत्रीले चलाएको यो राहत कार्यक्रममा बिगत एक बर्षमा नगर क्षेत्रभित्रका ३ सय ५० जनाभन्दा बढी बिरामीले निःशुल्क रगत पाइसकेका छन्। सुत्केरी महिलादेखि दुर्घटनाका घाइते, अपरेसन गराउने बिरामीदेखि क्यान्सरसम्मका विरामीले यस सेवाको लाभ लिएका छन्।

रक्तसञ्चार केन्द्र बर्दिवासका अनुसार, नागरिकको परीचयपत्रको आधारमा सरदर दैनिक ३ देखि ५ जनाले नि–शुल्क रगतको माग गर्ने गरेकोमा, बर्दिवास नगरपालिकाभित्रका नागरिकलाई सोझै नगरको सहायतामा रगत दिइरहेको छ।

नगरप्रमुख क्षेत्री भन्छन्,“हामीले स्वास्थ्यलाई मानव अधिकारको रूपमा लिएका छौं। बिरामीलाई रगत खोजेर हैरान बनाउने होइन, समयमै उपचारमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम थालिएको हो।”रगत त मानवीय सहकार्य हो,यसलाई बेच्ने होइन, बाँड्ने संस्कार हुनुपर्छ।”
उनका अनुसार नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर नेपाल रेडक्रससँग समन्वय गरी, नगरबासीकालागि रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो। अहिले रक्त सञ्चार केन्द्रमा रगतको मूल्य १३ सय ५० रुपैयाँ पर्छ, जुन रकम सामान्य आम नागरिकका लागि भारी हुन सक्छ।

यो कार्यक्रम बर्दिवास नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थालेका केही उदाहरणीय कामहरूमध्ये एक हो। नगर स्वास्थ्य शाखाका अनुसार नगर अस्पतालमा नियमित रूपमा रक्तदान कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता सुनिश्चित गर्न नगरले स्वयंसेवी रक्तदाता क्लवहरूलाई पनि प्रोत्साहित गर्दै आएको छ।

“मलाई समयमै रगत उपलब्द नगराएको भए ज्यान जान सक्थ्यो,”भन्छिन् बर्दिवास–१ की प्रेमा कुमारी घिमिरे,“तर नगरपालिकाको यो सेवा मेरो लागि देवताको आशिर्वादजस्तै बन्यो।”

स्वास्थ्य सुलभ र समावेशी बनाउने प्रयास स्वरूप यो कार्यक्रमले गरिब, विपन्न, बिपद्का बेला परेका नगरवासीका लागि ठुलो राहतको रूपमा देखिएको छ।

यद्यपि यो कार्यक्रम प्रशंसनीय छ, नगरपालिकाका स्वास्थ्य संयोजक शुरेश पासवान भन्छन—“यदि रक्तदाता स्वयंसेवीहरूको संख्या बढेन भने रक्त सञ्चार केन्द्रमा निरन्तर आपूर्तिमा चुनौती बन्न सक्छ।” त्यसैले, नगरले रक्तदाता दिवस’ लगायतका बिभिन्न अवसरहरुमा स्थानिय संघ संस्थाहरुको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ,जसबाट समुदायमा रक्तदानप्रतिको चेतना फैलाउने र आपूर्ति सन्तुलन कायम राख्ने गरीएको छ।

बर्दिवास नगरपालिकाले नगरवासीकालागी गरेको यो निःशुल्क रगत वितरण कार्यक्रम कुनै योजनाको नारामा सीमित छैन, यो जीवन रक्षाको संकल्प हो। जनताको पीडालाई बुझेर उनीहरूको पक्षमा उभिने नेतृत्व र प्रशासनिक सक्रियता यसमा देखिन्छ। जब सत्ताको पहुँच एम्बुलेन्सभन्दा छिटो रगत पु¥याउने काममा लाग्छ, त्यहीँबाट नागरिकका आँखामा सरकारप्रति विश्वास देखिन थाल्छ।

बर्दिवास नगरपालिकाले देखाएको यो नमूना अन्य स्थानीय तहकालागि पनि सिक्ने विषय हुन सक्छ। जब जनताको रगतमा लुकेको भरोसा बाँच्न थाल्छ, तब शासन जन–मुखी बन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...