आज्ञा खबर
बर्दिवास
बिहानको १० बज्न नपाउँदै बर्दिवास बजारको छेउछाउ एउटा निलो रङको ई–रिक्सा फन्को मारिरहेको देखिन्छ। यसमा कोही बालबालिका छन्, जो विद्यालय जान हतारिएका छन्। कोही बृद्धबृद्धा अस्पतालतर्फ लागिरहेका छन्। कसैलाई काममा जान हतारो छ, कसैलाई घर फर्कन। ती सबैका गन्तव्य एउटै साधनले पुरा गरिरहेको छ—एक निलो ई–रिक्सा। यसको स्टेयरिङमा भने कोही पुरुष होइनन्, २२ वर्षीया एक महिला मुस्कुराइरहेकी छन्। उनी हुन—सुबाेत्रीमाया वाईवा, बर्दिवास–५ की आत्मनिर्भर महिला र एक साहसी सवारी चालक।
पुरुषप्रधान पेशामा महिलाको हस्तक्षेप सधैं सजिलो हुँदैन। अझ ट्राफिकले भरिएको पूर्व–पश्चिम राजमार्ग र व्यस्त बजारबीच सवारी साधन चलाउनु महिला लागि झनै चुनौती हो। तर यी सबै चुनौतीलाई सहज आत्मविश्वास र दृढ इच्छाशक्तिले जितेकी छिन् वाईवाले।
सामान्य आर्थिक हैसियत भएको परिवारकी वाईवा प्रारम्भमा गृहिणी थिइन्। उनका श्रीमान् ठूलो मालबाहक ट्रक चलाउँथे। दुई छोराको लालनपालन र घरको खर्च धान्न उनीहरूलाई निकै मिहिनेत गर्नुपथ्र्यो। तर उनले भित्रैदेखि महसुस गरिन—“महिलाहरू पनि सक्षम हुनैपर्छ। केवल श्रीमानले कमाएर मात्रै सबै सम्भव हुँदैन।“ यही सोचले उनलाई परिवर्तनको बाटोमा डोर्यायो।
एक दिन उनले बजारमा ई–रिक्साको चहलपहल देखिन्। र मनमा प्रश्न उठ्यो, “किन म पनि यस्तो चलाउन सक्दिनँरु“सुरुमा उनलाई पनि लाग्यो—यो त सजिलो सोच मात्र हो। तर उनले आफुलाई रोकिन दिइनन्। श्रीमान्को सहयोगमा आफूले केही बचत गरेको रकम मिसाएर करिब ३ लाख रुपैयाँको नयाँ ई–रिक्सा किनिन्।
सवारी चलाउन थालेको पहिलो सातामा वाईवा निकै डराइन्। व्यस्त सडकमा एकछिन ध्यान हट्दा दुर्घटना हुन सक्छ भन्ने त्रास थियो। त्यसमाथि महिला चालकको पहिचानले कतिपय यात्रुहरूको सुरुवाती व्यवहार पनि सजिलो थिएन।
तर उनले आफ्नो मुस्कान, समयपालन र यात्रुप्रतिको सम्मानजनक व्यवहारबाट ती सबैलाई जितिन्। बालबालिका, वृद्धवृद्धा र महिलाहरूले उनलाई प्राथमिकता दिन थाले। यात्रु विश्वासले उनको हौसला बढायो।
आहिले उनी बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बजार घुम्छिन्। दैनिक रु। १,००० देखि २,००० सम्म आम्दानी हुन्छ। छोराहरूको स्कुल फी, किताब, कपडा सबै खर्च उनी आफैंले बेहोर्छिन्। उनी भन्छिन्,“आफ्नै कमाइले छोराहरु पढाउन पाउँदा गर्व लाग्छ।”
उनको यात्रामा पति पनि अब साथमा छन्। कहिलेकाहीँ रिक्सा सफा गर्नु, चार्जमा मद्दत गर्नुजस्ता काम उनी गर्छन्। उनको आत्मनिर्भरता देखेर अन्य महिला पनि प्रभावित भएका छन्। धेरै महिला अहिले वाईवासँग सल्लाह लिन आउँछन्—रिक्सा कसरी किन्नेरु कसरी सञ्चालन गर्नेरु उनले भनेकी छन्, “हिम्मत भए के हुँदैन।”
वाईवा अहिले महिला सशक्तिकरणका कार्यक्रमहरूमा समेत भाग लिन थालेकी छन्। बर्दिवास भित्रका विभिन्न कार्यक्रम, महिला समूहहरूमा संलग्न हुँदै उनी अहिले आर्थिक मात्र होइन, सामाजिक रूपमा पनि सक्रिय बनेकी छन्।
वाईवाको सफलता प्रेरणादायी भए पनि उनले सामना गरिरहेका चुनौतीहरू अझै बाँकी छन्। महिला रिक्साचालकका लागि सुरक्षित शौचालय छैनन्, विश्रामस्थलको अभाव छ, सडक सुरक्षामा पनि महिला अनुकूल दृष्टिकोण अझै देखिएको छैन।
यस्ता संरचनात्मक चुनौतीहरूको समाधान गर्दै थप महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न बर्दिवास नगरपालिकाले पहल थालेको छ।

नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीका अनुसार, “बर्दिवासमा महिला उद्यमीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि व्यवसाय दर्ता र व्यावसायिक रजिस्ट्रेशन शुल्कमा पूर्ण छुट दिने नीति लागू गरिएको छ। साथै श्रमिक महिलाको पहिचान गरेर उद्यमशीलता प्रवद्र्धनमा नगरपालिकाले विशेष कार्यक्रम ल्याउँदैछ।”
सुबाेत्रीमाया वाईवा अब केवल एक सवारी चालक छैनन्। उनी बर्दिवास नगरकी परिवर्तनशील महिला अनुहार हुन्। उनको हिम्मत, श्रम र निरन्तरताले समाजमा महिलाको स्थान र पहिचानलाई फराकिलो बनाएको छ।
उनले भनेझैँ—“काम गरेर बाँच्ने खुसी छुट्टै हुन्छ। मैले धेरै संघर्ष गरें, तर आज जब म आफैंले कमाएको पैसाले परिवार चलाउँछु, त्यो अनुभूति भन्नै सकिन्न।“
बर्दिवासको प्रचण्ड गर्मीको बिहान, र अनगिन्ती गन्तव्यहरूबीच एउटा निलो रिक्सामा सवार एक महिला देखिन्छिन—सुबात्रीमाया वाईवा। उनी केवल यात्रुलाई मात्र होइन, समाजलाई पनि एउटा यात्रा गराइरहेकी छिन—आत्मनिर्भरता र रूपान्तरणतर्फको यात्रा।
उनको यो यात्रा सायद लामो हुनेछ, कठिन पनि। तर उनले सवारी चलाउने स्टेयरिङजस्तै आफ्नो जीवनको हरेक मोडमा दृढतापूर्वक सम्हालिरहनेछिन् भन्ने विश्वास अब बर्दिवासवासीको मात्र होइन, हामी सबैको हो।





































