आज्ञा खबर
काठमाडौं
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ’अहिराज’ विरुद्ध बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले दुई महिना अघि पक्राउ अनुमति दिए पनि अहिराज अहिलेसम्म पनि फरार रहेका छन्।
२०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेश प्रमुख रहेका अहिराजले काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको हो। घटनाको मिति २०८१ साल जेठ ४ गतेको रहेको पीडित पक्षको दाबी छ।
पीडितले प्रहरीमा पटकपटक जाहेरी दिन खोजे पनि सुरुवातमा प्रहरीले उजुरी लिन नमानेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी लिन आनाकानी गरेपछि उनी जिल्ला सरकारी वकिलको कार्यालय पुगेकी थिइन्। त्यसपछि कार्यालयले २०८१ कात्तिक ३० गते जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो।
त्यसको झण्डै दुई महिना पछि मात्रै, २०८१ माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको थियो। तर त्यसबेला पनि प्रहरीतर्फबाट तत्कालै पक्राउ प्रक्रिया अगाडि बढाइएको थिएन।
अदालती स्रोतका अनुसार, जिल्ला प्रहरी परिसरले २०८१ चैत २५ गते मात्रै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको हो। सो अनुमति लिइएपछि अहिराज फरार भएको बुझिएको छ। प्रहरी स्रोतका अनुसार, पक्राउ पुर्जी जारी भएको थाहा पाएलगत्तै अहिराज भारततर्फ भागेका हुनसक्ने आशंका गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले अहिराजको खोजी भइरहेको जानकारी दिएका छन्। “फेला पार्न सकेका छैनौं, तर खोजी जारी छ,” एसपी बोहराले बताए।
पीडित युवतीले जाहेरीमा आफूलाई पटक–पटक बलात्कार गरेको र त्यसको गोप्य राख्न धम्की समेत दिएको उल्लेख गरेकी छन्। प्रहरीले समयमै कारबाही प्रक्रिया नचालेको भन्दै पीडित पक्षले निराशा व्यक्त गर्दै आएका छन्।
पूर्वराजनीतिक पदमा बसेका व्यक्तिमाथिको यस्तो गम्भीर आरोप र त्यसपछि देखिएको ढिलासुस्तीप्रति सार्वजनिक चासो बढ्दो छ। अहिराजलाई पक्राउ गरी सत्यतथ्य बाहिर ल्याउन नागरिक समाज र महिला अधिकारकर्मीहरूले दबाव बढाइरहेका छन्।
